लिङदेनद्धारा साँसद पद त्यागको घोषणा, कांग्रेस र कम्युनिष्टका साँसदलाई नैतिक चुनौति

Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्र लिङदेनले सांसद पद त्यागेको घोषणा गरेका छन् । 

आईतवारको प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै उनले प्रतिनिधि सभाको यस कार्यकालमा सांसदको रुपमा संसदमा उपस्थित नहुने घोषणा गरे । लिङदेनले सार्वजनिक पद परित्याग गरी चुनावी प्रतिस्पर्धामा जाने घोषण गरेसँगै नेपाली कांग्रेस र कम्युनिष्टका ठूला दललाई नैतिक चुनौति भएको छ । 
 
उनले आफूले पाउने तलव, भत्ता तथा सुविधाहरुको समेत रोक्का गर्न संसद सचिवालयलाई आग्रह गरे । लिङदेनले संसदको आयु मंसिर ४ गतेको निर्वाचनपछि पनि कायम राख्नेगरी प्रक्रिया अघि बढेकोप्रति असन्तुष्ट हुँदै सांसद पद त्याग गर्ने निर्णय लिएको जानकारी दिए । 

Advertisement

उनले निर्वाचन घोषणा भएसँगै संसदको आयु जीवित राख्नु नहुने पक्षमा आफू र आफ्नो पार्टी रहेको उल्लेख गरे । आफू अनैतिक काममा सहभागी हुन नसक्ने बताए । लिङदेनले भने, ‘व्यक्तिगत रुपमा म चाहीँ अब संसदमा आउँदिन । पार्टीको अध्यक्ष पनि छु । सानो पार्टीको अध्यक्ष हुनको नाताले आउने चुनावमा संसदमा प्रभावकारी उपस्थिति बनाउनको लागि जनताको बीचमै जानको लागि बेसी समय खर्च गर्नुपर्छ । त्यसकारणले भत्ता पकाउनको लागि मात्रै अब संसद आउँदिन भनेर आउन छोडेको पनि थिएँ । तर पछिल्लो दिनमा जब संसदको आयु मंसिर ४ गतेपछि पनि कायम राख्ने भन्ने ढंगको निर्णय गर्ने प्रक्रियाहरु प्रारम्भ भएका छन्, त्यसले मलाई असाध्यै लज्जित र दुखित तुल्यायो । त्यसकारण मैले बाटो बाटै सांसद छैन । छोडें भनेर हिँड्नुको अर्थ हुँदैन । कमसेकम संसदमा उभिएर सबैलाई सुनाएर जानु उपयुक्त हुन्छ भनेर म आज संसदमा उपस्थित भएको छु । र यहीँबाट घोषणा गर्न चाहन्छु, म आजबाट सांसदको रुपमा यहाँ उपस्थित हुनेछैन मात्र होइन, सभामुखलाई म आग्रह गर्न चाहन्छु, सचिवालयलाई आग्रह गर्न चाहन्छु, मेरो नाममा पठाइने तलव, भत्ता, सुविधा समेत रोक्का गरियोस् । कहीँ लेखेर दिनुपर्छ भने म त्यो नियमानुसार लेखेर दिन पनि तयार छु । यस प्रकारको अनैतिक काममा सहभागी हुन कमसेकम मेरो आत्माले मानेन । मेरो अन्तरआत्माको आवाज अनुसार, अन्तरआत्माको निर्देशन अनुसार आज यो सबै चिज त्याग गर्न यहाँ उपस्थित भएको छु ।’

सांसद लिङदेनले आगामी निर्वाचनपछि एक्लो सांसदको रुपमा मात्र नभई बलियो पार्टीको रुपमा संसदमा उपस्थित हुने र संसदबाट गलत निर्णय गर्न नदिने संकल्पका साथ जनतामा जाने बताए । 

Advertisement

Advertisement