Advertisement

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मन्त्रिपरिषदमा भाग खोजेको आरोप अस्वीकार गरेका छन् । मंगलबारको बयानका क्रममा उनले गजेन्द्र हमाललाई उद्योगमन्त्री बनाएको विषयमा सोधिएको प्रश्नमा यस्तो प्रश्न समावेश नगरेको भए पनि हुन्थ्यो भने । 

हमाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको कार्यकर्ता भएकाले मन्त्री बनाएको त्यतिबेला बताएका थिए । जबराको जेठान भएको कारण मन्त्री बनाइएको भनेर आलोचना हुन थालेपछि उनले तत्कालै राजीनामा दिएका थिए । 

Advertisement

आजको बयानका क्रममा जबराले यो प्रश्नलाई समावेश नगरेको भए राम्रो हुन्थ्यो भन्दै सञ्चार माध्यममा भागवण्डा खोजेको भनेर आएपछि आफूले वक्तव्य निकालेर खण्डन गरेको स्मरण गराए ।

त्यसपछि पनि निरन्तर यो प्रश्न उठेपछि चर्चा गरिएका व्यक्तिलाई मन्त्री बनाउनु हुँदैन, नबनाइयोस् भनेर सम्बन्धित पदाधिकारीलाई आग्रह गरेको बताउँदै जबराले त्यसका बाबजुद पनि हमाललाई मन्त्री नियुक्त गरिएको गुनासो गरे । उनले भने, ‘यो प्रश्न नआएको भए हुन्थ्यो । धेरै कुरा खोल्दा राम्रो हुन्न ।’

मन्त्री बनाउने काम प्रधानमन्त्रीको भएको र प्रधानमन्त्रीले कसैको दबाब, प्रभावमा मन्त्रिपरिषद् गठन गर्नुहुन्छ भन्ने कल्पना गर्न नसकिने जबराले बताए । यसबारे प्रधानमन्त्री र सत्तारुढ दलका नेताहरुले पनि बोलिसकेको भन्दै उनले भने, ‘प्रधानन्यायाधीशले प्रधानमन्त्रीलाई दबाव दिने भने हुन सक्दैन । यसमा कुनै सत्यता छैन ।’

साथै, जबराले आफूमाथि लागेको महाअभियोगको जड प्रतिनिधिसभा पुनर्स्थापना गर्ने २८ असार २०७८ फैसला भएको बताए । आफूमाथि लागेका सबै आरोप सैद्धान्तिक भएको उनले बताए । 

जबराले भने, ‘केही राजनीतिक मुद्दाको परिणामबाट फैसलामा पूर्वानुमान गरेर न्यायाधीश र प्रधानन्यायाधीशको बीचमा विभेद गराइयो । केहीलाई हौसला दिइयो, केहीलाई आश्वासन दिइयो, र प्रधानन्याधीशको पद केही पर राख्नुपर्छ, काम गर्न दिनुहन्न भन्नेव वातावरण सिर्जना गर्न सबै क्रियाकलाप भयो ।’

आफूमाथि लागेका सबै आरोप झुटा भएको भन्दै उनले थपे, ‘प्रधानन्यायाधीशको पनि न्यायाधीश हुने सौभाग्य यहाँहरुलाई छ । संवैधानिक दायित्व, न्यायको दायित्व, अन्तर्राष्ट्रिय मूल्य मान्यतालाई गम्भीर रुपमा महसुस गरेर निर्णय लिनु हुनेछ भन्ने पूर्ण विश्वास छ ।’

भोलि इतिहासमा प्रधानन्यायाधीशलाई अन्याय पर्यो भन्ने नदेखियोस् भन्दै जबराले प्रधानन्यायाधीशको गल्ती गरेको देखिन्छ भने त्यही किसिमको होस् भने । 

Advertisement

Advertisement