‘चुनावमा टिकट व्यवस्थापन गर्न गाह्रो भयो, दुई कदम हिंडन नसक्ने बुढाले समेत टिकट मागे’

Advertisement

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले मंसिर ४ को संसदीय चुनावका लागि टिकट व्यवस्थापन गर्न पार्टीभित्र गाह्रो भएको गुनासो गरेका छन् । 

उनले नगरेपनि हुन्थ्यो नि भन्नेहरुले पनि निर्वाचनमा टिकट लिनका लागि चर्को दावी गरिरहेको उल्लेख गर्दै त्यसको व्यवस्थापन गर्न पार्टीलाई समस्या भइरहेको बताएका हुन् । 

Advertisement

बुधबार आफ्नो पार्टी निकट समाजवादी सहकारी संगठनको घोषणा कार्यक्रममा माधव नेपालले उठेर दुई कदम पनि हिँडन नसक्ने बुढाहरुले समेत टिकटको आकांक्षा चर्को रुपमा राखेको बताए । उनले ती आकांक्षीहरुमा टिकट नपाउने हो भने बेहोस् हुने होकी भन्ने आफूलाई लागेको पनि बताए । 

माधव नेपालले भने, ‘अब मंसिर ४ गते चुनाव हुन गइरहेको छ । सबैलाई टिकट चाहिएको छ । अब टिकट नपाउने हो भने कता फेन्ट हुने हो ? थाहा छैन । भनेपछि चाहना हेर्ने हो भने आकाशिएको छ । सबै एकदम काबिल भएर आएका छन् । को काबिल, को काबिल छैन् ? त्यो छुट्टयाउने आधार हामीले बनाउन सकिरहेका छैनौं । नगरे पनि हुन्थ्यो नि दावा भन्नेले पनि चर्को दावी गरिरहेका छन् । उठेर दुई कदम हिँड्न सक्दैन बिचरा बुढो भइसक्यो । तैपनि मर्ने बेलामा एकचोटी त पाउँ, अरु केही भएन भने नाम भए  पनि त्यहाँ टाँसिन पाउँ । के होला, कस्तो गाह्रो ?’  

उनले पार्टीका नेता, कार्यकर्ताहरुलाई कुनै व्यवसाय  वा रोजगारीमा जोडिन पनि सल्लाह दिए । त्यसका लागि सहकारीको अवधारणा सबैभन्दा उपयुक्त रहेको माधव नेपालले बताए । 

Advertisement

Advertisement