महाभियोग समितिकै सदस्य भन्छन्– महाभियोग प्रक्रिया अवैध छ, संवैधानिक दुर्घटना हुनसक्छ

Advertisement

काठमाडौं । महाभियोग सिफारिस समितिका एक सदस्य बिष्णु पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध लगाइएका महाभियोग प्रक्रिया नै अवैध रहेको खुलासा गरेका छन् । 

एपीवान टेलिभिजनमा बुधबार प्रसारित एक टर्क शोमा उनले समितिको पहिलो बैठकमा नै आफूले जबराविरुद्धको महाभियोग प्रक्रिया संविधान, अरु कानुनी व्यवस्था, प्रतिनिधिसभा नियमावलीअनुसार भएनभएको हेर्नुपर्छ भनेर प्रश्न उठाएको बताउँदै अहिलेको महाभियोग प्रक्रियामा वैधानिक प्रश्न रहेको बताए । 

Advertisement

जबरामाथि लगाइएका आरोप न्यायालयसँग सम्वन्धित नभई राजनीतिसँग सम्वन्धित रहेको स्वीकार गर्दै पौडेलले महाभियोगको विषय भद्दा मजाक जस्तो भइरहेको बताए । महाभियोग निकै ठूलो अस्त्र भएकाले यथेष्ट प्रमाण भएपछि मात्रै यो अस्त्र प्रयोग गर्नुपर्नेमा त्यो नभएको उनको बुझाई छ । 

पौडेलले भने, ‘संविधानको, कानुनको, नियमावलीको व्यवस्थालाई बेवास्ता गरेर, ती व्यवस्थालाई किनारा लगाएर..... महाभियोग प्रस्ताव दर्ता भएपछि छ महिनासम्म त्यसलाई प्रक्रियामा लगिएन् । जबकी हाम्रो संवैधानिक, कानुनी व्यवस्था के छ भने हप्ता दिनभित्रमा त्यो प्रक्रियामा जानुपर्छ । महाभियोग समितिको कार्यसुची बन्नुपर्छ । समितिले बढीमा तीन महिनासम्म काम गरेर आफ्नो प्रतिवेदन दिनुपर्छ । त्यो प्रतिवेदनसम्वन्धमा प्रतिनिधिसभाले अन्तिम निर्णय पनि दिनुपर्छ । महाभियोग दर्ता गरियो । तर त्यसलाई प्रक्रियामा लगिएन् । कतिबेला लगियो भने जब प्रतिनिधिसभाको अर्को निर्वाचनको घोषणा भइसक्यो ।’ 

महाभियोग सिफारिस समितिलाई दिनुपर्ने तीन महिनाको समयसमेत प्रयोग गर्न नपाउने अवस्थामा यो प्रक्रिया अघि बढाइएको बताउँदै उनले यो रमाइलो विषय नभएर चिन्ताको विषय भएको बताए । अहिलेको सत्ताले प्रधानन्यायाधीशलाई त्रासमा राखेर अदालतलाई दुरुपयोग गर्न चाहान्छ भन्ने देखिएको पौडेलको विश्लेषण छ । 

उनले जबरालाई दोषी करार गरेर खण्डित गर्नु थियो भने कानुनी प्रक्रियाअनुसार महाभियोग अघि बढाइन्थ्यो भने । पौडेलले भने, ‘हामी यति शक्तिशाली छौं कि हाम्रो तजबिजमा चल्न अदालततयार हुँदैन भने जुनसुकै अस्त्र प्रयोग गर्न सक्छौं भनेर त्रासमा राखेर अदालतलाई काममा लगाउने दुरासय देखिन्छ । एमाले पूर्वधारणा लिएर समितिमा सामेल नभएको उनले दावी गरे । 

साथै, पौडेलले चाँडै संवैधानिक दुर्घटनामा समेत हुनसक्ने बताए । 
 

Advertisement

Advertisement