प्रचण्डको नयाँ तर्क– अध्यात्मवाद अन्धविश्वास र अज्ञानता हो, यसले समाजमा विभेद र अपमान गर्छ

Advertisement

काठमाडौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यात्मवादलाई अन्धविश्वास र अज्ञानताको संज्ञा दिए । शनिवार आफ्नो पार्टी कार्यालयमा राष्ट्रिय विज्ञान दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले धर्मका नाममा ढुंगा पूज्दै हिँड्न विज्ञानसम्मत नभएको जिकिर गरे । 

प्रचण्डले आध्यात्मवाद वा परम्परागत जडताले विभेदतिर, अपमानतिर, उचनिच बनाएर मानिसहरुलाई फुटाउनेतिर लैजाने तर्क गर्दै विज्ञान प्रविधिले समानता, समाजवादतिर, न्यायतिर लैजाने जिकिर गरे । विज्ञानको बारेमा देशमा ठूलो वहस चलाउन आवश्यक रहेको उनको भनाई थियो । 

Advertisement

नेता प्रचण्डले नेपालमा तेत्तिसकोटी देवता हुन्छन्, जताततै देवतालाई पूजा गर्दै हिँड्नुपर्ने, मान्छेलाई लात हान्दै हिँड्ने, ढुंगालाई पूजा गर्दै हिँड्ने संस्कार रहेको उल्लेख गर्दै नेपाली समाज अझै विज्ञानको क्षेत्रमा पस्न नसकेको बताए । उनले नाट्यकार बालकृष्ण समले ‘ज्ञान मर्दछ, हाँसेर, रोई विज्ञान मर्दछ’ भन्ने कवितांश सही नभएको जिकिर गरे । 

प्रचण्डले यस्ता संस्कारले देशको विकास र विज्ञानको विकासमा अवरोध सिर्जना गरेको बताए । उनले विज्ञानको दुरुपयोग र सदुपयोग दुवै हुने उल्लेख गर्दै विज्ञानको धेरै भन्दा धेरै सदुपयोग गरी देशको विकास गर्न जरुरी रहेको बताए । प्रचण्डले सही विचारलाई बोकेर विज्ञानको प्रचारप्रसार र प्रयोग गर्नसके जनताको विकासलाई सहयोग पुग्ने बताए । 
 

Advertisement

Advertisement