‘परमादेशले एमालेसँग सँसदमा भेट्न पनि पाइयो, नागरिकता विधेयक पनि पास गर्न पाइयो’

Advertisement

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्च अदालतले परमादेशबाट संसद पुर्नस्थापना गरेर न्याय गरेको तर्क गरेका छन् । शनिबार प्रतिनिधि सभाको बैठकमा उनले सर्वोच्च अदालतको परामादेशबाट विघटित संसद पुर्नस्थापना भएकाले अदालतले न्याय गरेको बताएका हुन् । 

देउवाले प्रमुख प्रतिपक्ष दलका नेता केपी ओलीतर्फ इंकित गर्दै सरकार मात्रै होइन संसद पनि परमादेशबाट आएकाले सँगै काम गर्न पाइएको बताए । परमादेश नभएको भए सत्तापक्ष र प्रतिपक्ष सँगै बसेर काम गर्न नपाइने थियो भन्दै उनले परमादेशले भेट गर्ने मौका दिएको बताए । 

Advertisement

देउवाले भने, ‘हुनत हाम्रो प्रतिपक्षी दलका नेताले परमादेशको सरकार भनेर भन्नुहुन्छ जहिल्यै मलाई थाहा छ । यो संसद नै परमादेशबाट आएको हो । त्यसकारण उहाँ र हामी सँगै काम गर्न पाइरहेका छौँ । परमादेश नभएको भए उहाँ र हामी सँगसँगै बसेर काम गर्न पाउँदैनथ्यौ । धेरै ठूला ठूला विधेयकहरु पास गर्न सकिदैन्थ्यो । परमादेशले हामीलाई भेट गर्ने मौका दिएको छ । यसको लागि न्यायालयले पनि न्याय गरेको मैले महशुस गरेको छु ।’

प्रधानमन्त्री देउवाले वर्तमान गठबन्धन सरकारले नागरिकता लगायतका धेरै विधेयक पारित गर्न सफल भएको बताए । उनले सरकारले बहुपक्षीय तथा द्धिपक्षीय परराष्ट्र सम्बन्धमा पनि सुधार गरेको दावी गरे । आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनलाई निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न निर्वाचन आयोगलाई सरकारको पूर्ण समर्थन हुने पनि उनले बताए । 

देउवाले भने, ‘आउँदो मंसिर ४ गते सम्पन्न गर्नेगरी घोषणा भएको संघ, प्रदेश सभा सदस्यहरुको निर्वाचन निष्पक्ष, शान्तिपूर्ण रुपमा सम्पन्न गराउने निर्वाचन आयोगको कामलाई सरकारले पुरापुरा उहाँहरुलाई निष्पक्ष चुनाव गराउन सहयोग गर्ने विश्वास पनि दिलाउन चाहान्छु । निर्वाचन आयोगलाई सरकारको तर्फबाट पूर्ण सहयोग हुने नै छ ।’

उनले वर्षाका कारण देशभर आएको बाढी, पहिरो र डुबानको नोक्सानी बुझेर सरकारले राहत र क्षतिपूर्तिको व्यवस्था गर्ने बताए । 

Advertisement

Advertisement