मंसिर ४ गते जनताले गठबन्धनलाई जवाफ दिने ओलीको विश्वास, आफू सफल भएको दावी

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले निर्वाचनको यो बेला सत्तापक्षबाट लतारिएर नचल्न निर्वाचन आयोगलाई सल्लाह दिएका छन् । शनिबार संसदमा बोल्दै उनले निर्वाचनलाई प्रभावित हुने गरी निर्वाचन आयोगलाई हस्तक्षेप गर्ने कुनै पनि खालको काम नगर्न सरकारलाई चेतावनी पनि दिए । 

निर्वाचन आयोगमाथि हस्तक्षेपकारी भूमिका खेल्ने र  निर्वाचनलाई अस्वस्थ ढंगले प्रभावित गर्ने भूमिका सरकारले खेल्नु मनासिव हुँदैन भन्दै ओलीले आफूले त्यतापट्टि सरकारलाई सचेत गराउन चाहेको पटकपटक दोहो¥याए । उनले स्थानीय निर्वाचनमा सरकारले राज्य स्रोतको चरम दूरुपयोग गरेर निर्वाचनलाई प्रभावित पार्ने काम गरेको उल्लेख गरे । 

Advertisement

नेता ओलीले भने, ‘मुलुक अब निर्वाचनमा जाँदैछ । निर्वाचनको सन्दर्भमा गएको स्थानीय निर्वाचनमा सत्ता पक्षीय भूमिका, सत्ताको दूरुपयोग, अनेक प्रकारका सत्ताको दूरुपयोगजस्ता कुराहरु नराम्ररी प्रकट भए । प्रहरी प्रशासनको दूरुपयोग र अरु राज्य संयन्त्रको विभिन्न ढंगले दूरुपयोग गर्ने कामहरु भए । म सरकारलाई भन्न चाहन्छु– अहिले पनि सजग गराउन चाहन्छु । लोकतन्त्रभित्र त्यस्ता प्रक्रियाहरु, त्यस्ता तौरतरिकाहरु, लोकतान्त्रिक मूल्यमन्यता भित्र पर्दैनन् ।’ 

उनले निर्वाचनमा जाने कामलाई सत्तारुढ दलहरुले प्रतिगमन भन्ने गरेकोमा आपत्ति जनाए । निर्वाचन कहिल्यै पनि प्रतिगमन नहुने उनको तर्क थियो । ओलीले प्रतिनिधिसभाको पाँच वर्षे कार्यकाललाई सफल रहेको जिकिरसमेत गरे । 

उनले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नेपालको नक्सा जारी गर्ने आफू नेतृत्वको सरकारको कामप्रति संकेत गर्दै राष्ट्रियताको सन्दर्भमा यो संसदले गरेको काम इतिहासमा कहिल्यै नमेटिने खालको रहेको बताए । 

ओलीले भने, ‘सरकारको बारेमा त मैले केही भन्नु पर्दैन । मंसिर ४ गते जनताले सरकारलाई जवाफ दिनेछन । गठबन्धनलाई जवाफ दिनेछन । अहिले म धेरै केही भनिरहन्न । अरु निकायहरु जसलाई जनताले त्यसरी जवाफ दिन मिल्दैन । ती निकायहरु संसदको भूमिका नेकपा एमालको विरुद्ध संसद, संसदीय मर्यादा आदिको वास्तै नगरेर, नियम, कानुन र प्रचलनको वास्तै नगरर आफ्नै कामको पनि वास्ता नगरेर चल्ने कामहरु भए । यी सबै कामहरु वास्तवमा लोकतन्त्रलाई कमजोर पार्ने खालका, यस प्रणालीलाई कमजोर पार्ने खालका, संविधानको मर्म, भावना र त्यसको वास्तविक कार्यान्वयन प्रतिकूल असर पर्ने खालका, राष्ट्रिय हित, जनहित भन्दा बढि, प्रणालीको हितभन्दा बढि आफ्ना निहीत स्वार्थलाई केन्द्र भागमा राखेर चल्ने खालका कामहरु भए । यी कुराहरु पछिल्लो समयमा दुःखद् कुराहरु हुन जसप्रति दुःख व्यक्त गर्नु पर्दछ ।’ 

ओलीले थपे, ‘म धेरै कुरा भन्ने भन्दा पनि यो संसद समग्रतामा भन्ने हो भने यो संसद र यसको कार्यकाल सफल रहेको छ भन्नु पर्छ । किन सफल रहेको छ भने यसको संविधानको कार्यान्वयनका लागि कानुन निर्माण गर्ने, संरचना निर्माण गर्नेलगायतका तमाम कामहरु गर्ने र शान्ति, सुव्यवस्थादेखि लिएर, सुशासनदेखि लिएर विकासका चौतर्फी प्रयासहरुलाई, सामाजिक न्याय र समानता क्षेत्रका प्रयासहरुलाई, त्यसै गरेर अन्य सम्बन्धमा प्रयासहरुलाई अगाडि बढाउने काम ग¥यो । र, यी ठूला उपलब्धिहरु हासिल भएका छन । इतिहासमा नमेटिने खालका राष्ट्रियताको सम्बन्धमा म घटना विशेषमा अहिले गईरहन चाहन्न । राष्ट्रियताको सम्बन्धमा राष्ट्रिय सार्वभौमिकताको सम्बन्धमा, स्वाधिनता, स्वतन्त्रताको सम्बन्धमा, भौगोलिक अखण्डताको सम्बन्धमा यस संसदको कार्यकालमा र यस संसदबाट निर्वाचित निर्वाचित सरकारबाट महत्वपूर्ण कामहरु भएका छन । त्यस काममा म प्रधानमन्त्री हुँदा संसदबाट जुन रचनात्मक सहयोग पाएको थिएँ । त्यसलाई पनि म स्मरण गर्न चाहन्छु, धन्यवाद भन्न चाहन्छु । र, पछि तर्कहिन, स्वार्थ प्रेरित क्रियाकलापहरु तर्फ संसदलाई बलजफ्ती लतारेर जाने अभ्यास भयो । दुःखको कुरा हो । र, हाम्रो संसदले त्यस्ता खालको कुराहरुलाई रोक्न सक्नु पर्दथ्यो । सही अभ्यासतिर लान सक्नु पर्दथ्यो । सही लोकतान्त्रिक बाटोतिर लान सक्नु पर्दथ्यो । राष्ट्रियताको पक्षधरतातर्फ संसद उभिन सक्नु पथ्र्यो । यस्ता कुराहरुमा संसद गम्भिर कमजोरीहरु पनि देखाएको छ ।’  

उनले नागरिकता विधेयकलाई सत्तारुढ दलहरुले आफ्नो राजनीतिक फाईदाको विषय मात्रै बनाएको भन्दै आक्रोश पोखे । 

Advertisement

Advertisement