टिकट नपाएपछि घनश्याम भुसालले एमाले नै छोडे, स्वतन्त्र उठ्नसक्ने

Advertisement

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भूसालले नेकपा एमाले परित्याग गरेको घोषणा गरेका छन् । उनी एमालेको स्थायी कमिटिमा पनि थिए । भुसालले सामाजिक सञ्जालमार्फत गुनासो पोख्दै एमाले छोडेको बताएका हुन् । 

भुसालले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित गरेको पार्टीमा नीति र विधिको पुनःस्थापना हुने कुनै सम्भावना नदेखेपछि पार्टी छाड्ने निर्णय गरेको बताउँदै भनेका छन्, ‘म स्वयंले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनःस्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैंप्रति पनि इमानदार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु ।’ 

Advertisement

एमाले अध्यक्ष केपी शर्मा ओलीको दम्भ र स्वेच्छाचारिताले केवल दम्भ र स्वेच्छाचारिताको आक्रमण बढ्दै गएको आरोप लगाउँदै उनले भनेका छन्, ‘अहिले यो पार्टी कमरेड केपी शर्मा ओलीको दम्भ र स्वेच्छाचारिताले— केवल दम्भ र स्वेच्छाचारिताको कैदी हुन पुगेको छ । नेकपा एमालेको गौरवलाई कुनै दिन पुनःस्थापित गर्न सकिन्छ भन्ने आशा र विश्वासले चरम अपमान र विभेद सहँदै मैले पार्टीमा नीति र विधिको पक्षमा सङ्घर्ष गर्दै आएको कुरा सर्वविदित नै छ ।’

ओलीको चर्को आलोचना गर्दै आएका भुसाल विचारमा अगाडि भए पनि कार्यक्षमतामा कमजोर नेता मानिन्छन् । उनले रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेको बुझिएको छ । सत्ता गठवन्धनका दलहरुको समर्थनमा उनले स्वतन्त्र उम्मेदवार दिनसक्ने संभावना बढेको हो । 

Advertisement

Advertisement