राजनीतिमा व्यवसायीहरुको आकर्षण बढ्दो, को को छन् यस पटक चुनावी मैदानमा व्यवसायी ?

Advertisement

काठमाडौं । राजनीतिमा व्यवसायीहरुको आकर्षण बढ्दै गएको छ । आसन्न संसदीय निर्वाचनका लागि मनोनयन दर्ता गर्नेहरुमा व्यवसायीहरुको संख्या उल्लेख्य देखिएको छ । 

अघिल्ला निर्वाचनहरुमा निर्माण व्यवसायीहरु मात्रै प्रतिस्पर्धामा उत्रिने गरेकोमा अहिले भने अरु व्यवसायीहरु पनि प्रत्यक्ष निर्वाचन लड्न आकर्षित देखिएका छन् । यसअघिका निर्वाचनमा निर्माण व्यवसायीबाहेक अरु व्यवसायी समानुपातिक सुचीमा बस्ने वा मनोनित भएर संसदमा आउने बढी थिए । 

Advertisement

यस पटक भने समानुपातिकमा बस्ने व्यवसायीहरुमा देवीप्रकाश भट्टचनसहित नगन्य मात्रै छन् । चर्चामा रहेका मोतिलाल दुगड, दुर्गा प्रसाईं आदिले प्रत्यक्ष वा समानुपातिक कतै पनि टिकट पाउन सकेनन् । 

चुनावी मैदानमा उत्रिने व्यवसायीमा सबै ठूला दलबाट मात्रै देखिन्छन् । यसरी धेरै व्यवसायीहरुलाई टिकट दिनेमा नेपाली कांग्रेस अगाडि छ भने दोस्रोमा एमाले छ । 

को को छन् चुनावी मैदानमा ? 
कांग्रेसले फोब्समा सुचीकृत नेपालका कएक मात्रै अर्बपति तथा चौधरी समूहका प्रमुख विनोद चौधरीलाई यस पटक प्रत्यक्ष निर्वाचनमा उतारेको छ । नवलपरासी पश्चिम क्षेत्र नं. १ बाट चुनाव उठेका उनको प्रतिस्पर्धा पूर्वमन्त्री तथा जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठी र नेकपा एमालेकी सिन्धु लजेशा बुढाथोकीसँग हुँदैछ । त्रिपाठी यसअघि एमालेको बलमा चुनाव जितेर मन्त्रीसमेत खान सफल भएका थिए । 

नवलपरासीमा चौधरीको उद्योगहरुसमेत रहेको र ती उद्योगमा धेरै स्थानीयलाई रोजगारी दिनुका साथै विकास निर्माण, सामाजिक तथा खेलकुद गतिविधिमा समेत सहयोग गर्दै आएकाले उनको सो क्षेत्रमा राम्रो पकड देखिन्छ । 

२०७४ को निर्वाचनको समयमा कांग्रेस प्रवेश गरेका चौधरी कांग्रेसको केन्द्रीय सदस्यसमेत छन् । काँग्रेसमा उनले आर्थिक विकासको एजेण्डामा नै बहस चलाउन र लबिङ गर्दै आएका छन् । चौधरीले चुनाव उठ्ने योजनाअनुसार नै नवलपरासीमा बर्षौं अघिदेखि पूर्वतयारी गर्दै आएका थिए । 

त्यस्तै, कांग्रेसबाट टिकट पाउने अर्का व्यवसायीमा उमेश श्रेष्ठ पनि छन् । विद्यालय सञ्चालक श्रेष्ठ प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजुका विश्वासपात्रको रुपमा पनि चिनिन्छन् । उनको पर्यटन र जलविद्युत क्षेत्रमा पनि लगानी देखिन्छ । हाल विना विभागीय मन्त्रीको रुपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय हेर्दै आएका श्रेष्ठले चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको चुनाव पाएका हुन् । 

यसअघि समानुपातिकमा रहने अनुमान गरिएका उनलाई कांग्रेसले पछि चितवन क्षेत्र नम्बर १ बाट उठाउने चर्चा चले पनि अन्तिम समयमा क्षेत्र नम्बर २ को टिकट दिएको हो । श्रेष्ठको प्रतिस्पर्धा निवर्तमान साँसद तथा एमालेका नेता कृष्णभक्त पोखरेल र अहिलेका चर्चित युवा नेता तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग हुँदैछ । 
 
चुनावी मैदानमा रहेका अर्का चर्चित व्यवसायी हुन राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डे । निर्माण व्यवसायको क्षेत्रमा लामो समयदेखि लागेर देश भित्र र बाहिर अमेरिकासम्म पुगी काम गरिसकेका उनले आफ्नो व्यक्तिगत पहलमै आफ्नो निर्वाचन क्षेत्रमा विकास निर्माणका काम गर्नुका साथै स्थानीयलाई समस्या पर्दा सहयोगसमेत गर्दै आएका छन् । 

यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रतिस्पर्धा गरे पनि प्रचण्डको राज्य संयन्त्र र आर्थिक प्रभावसँग प्रतिस्पर्धा गर्न नसकी पराजित भएका पाण्डेले यस पटक भने  कमजोर प्रतिस्पर्धीहरु भेटेका छन् । प्रचण्ड यस पटक सो क्षेत्र छोडेर गोरखा पुगेका छन् । यस पटक चितवन– ३ मा एमालेबाट रामप्रसाद न्यौपाने र सत्ता गठवन्धनबाट माओवादी केन्द्रका भोजराज अधिकारी उम्मेदवार छन् । रवि लामिछाने चितवन–२ बाट प्रतिस्पर्धा गर्न तयार भएसँगै पाण्डेलाई थप सहयोगसमेत भएको छ । 

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले टिकट नपाए पनि अर्का मेडिकल व्यवसायी सुनिल शर्माले भने टिकट पाएका छन् । उनलाई सत्ता गठवन्धनको तर्फबाट कांग्रेसले मोरङ–३ बाट उठाएको हो । उक्त क्षेत्रमा अहिले चर्चित अभिनेत्री रेखा थापा राप्रपाबाट चुनावी मैदानमा छन् भने एमालेका नेता तथा पूर्वमन्त्री भानुभक्त ढकाल पनि चुनावी मैदानमा भएकाले त्रिकोणात्मक प्रतिस्पर्धा हुने देखिएको छ । शर्मा यसअघि झिनो मतान्तरले पराजित भएका थिए । 

कृष्णकुमार श्रेष्ठ (किसान) पनि नाम चलेकै व्यवसायी हुन् । होटललगायत विभिन्न क्षेत्रमा लगानी गरेका उनले यसअघिको संसदीय निर्वाचनमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँबाट हराएर चर्चामा आएका थिए ।  

मन्त्रीसमेत भइसकेका एकीकृत समाजवादीका नेता श्रेष्ठले यस पटक तनहुँबाट टिकट नपाएपछि बारा क्षेत्र नम्बर ४ पुगेका छन् । सत्ता गठवन्धनबाट पौडेलले उम्मेदवारी दिएपछि उनी तनहुँबाट विस्थापित भएका हुन् । 

यसअघिको निर्वाचनमा वामगठवन्धनको देशव्यापी प्रभाव रहँदासमेत कांग्रेसबाट चुनाव जित्न सफल भएका रसुवाका नेता मोहन आचार्यले अहिलेको चुनावमा पनि टिकट पाउन सफल भएका छन् । उनी निर्माण व्यवसायी हुन् । आचार्यको प्रतिस्पर्धा एमालेका छेवाङ तेन्जेन तामाङसँग हुँदैछ । उनी सिभिल इन्जिनियर पनि हुन् । 

कांग्रेसबाट उम्मेदवार रहेका पर्यटन व्यवसायी राजेन्द्र बजगाईंले गोरखा क्षेत्र नम्बर १ बाट टिकट पाउन सफल भएका हुन् । क्यासिनोमा समेत ठूलो लगानी गरेर छोडेका उनको विगत केही विवादास्पद भए पनि कांग्रेसले विश्वास गरेर टिकट दिएको हो । बजगाईंको प्रतिस्पर्धा एमालेका रामशरण बस्नेत र राप्रपाका उदयबहादुर भट्टसँग हुँदैछ । 

रेष्टुरेन्ट, बैंक्वेट, घरजग्गा व्यवसायमा लगानी गरेका व्यवसायी दीपक खड्काले यस पटक पनि कांग्रेसबाट टिकट हात पार्न सफल भएका छन् । संखुवासभाबाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गरेका उनको प्रतिस्पर्धा यस पटक पनि एमालेका राजेन्द्र गौतमसँग हुँदैछ । कांग्रेसको संखुवासभा जिल्ला सभापतिसमेत रहेका खड्का २०७४ सालको प्रतिस्पर्धी चुनावमा समेत जित हासिल गर्न सफल भएका थिए । 

मनाङमा प्रतिस्पर्धामा रहेका मुख्य दुई प्रतिस्पर्धी दुवै व्यवसायी हुन् । ठूलो स्याउ फार्म सञ्चालन गर्दै आएका एमालेका पोल्देन छोपाङ गुरुङ म्यानपावर व्यवसायी रहेका कांग्रेसका टेकबहादुर गुरुङसँग प्रतिस्पर्धा गर्दैछन्। यसअघिको निर्वाचनमा पनि उनीहरुबीच नै प्रतिस्पर्धा भए पनि पोल्देन गुरुङ विजयी भएका थिए । टेकबहादुर गुरुङ भृकुटीमण्डप फनपार्कका एक सञ्चालकसमेत हुन् । 

म्यानपावर व्यवसायी एलपी (लालप्रसाद) सावाँ लिम्बुले यस पटक पनि एमालेबाट टिकट हात पार्न सफल भएका छन् । उनको जलविद्युतलगायतका क्षेत्रमा पनि लगानी देखिन्छ । 

लिम्बु झापा क्षेत्र नम्बर ४ बाट उम्मेदवार छन् । एमालेनिकट व्यवसायीहरुको महासंघको समेत नेतृत्व गर्दै आएका लिम्बुले २०७४ सालको चुनापमा कांग्रेसका देउकुमार थेवेलाई हराएर साँसद भएका थिए । 

निर्माण व्यवसायी पूर्णबहादुर (कान्छाराम) तामाङ रामेछापबाट उम्मेदवार बनेका छन्। उनी कांग्रेसको रामेछाप जिल्ला सभापति पनि हुन्। यसअघि पनि उम्मेदवार भएर हारेका तामाङ अहिले भने विजयी हुने दाउमा छन् । 

निर्माण व्यवसायी बालकृष्ण शिवाकोटीले दोलखाबाट उम्मेदवारी दर्ता गराएका छन्। एमालेका नेता शिवाकोटीलाई सत्ता गठवन्धनको तर्फबाट माओवादी केन्द्रका गंगा कार्की र राप्रपाका विजय खड्काले चुनौति दिएका छन् । 

Advertisement

Advertisement