‘भोजभतेरलगायत आचारसंहिता उल्लंघनका धेरै उजुरी आएका छन्, आयोग कठोर हुनुनपरोस्’

Advertisement

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहीता पूर्णरुपमा पालना गर्न उम्मेदवारहरुलाई आग्रह गरेको छ । राजनीतिक दलका उम्मेदवारहरु तथा स्वतन्त्र उम्मेदवारहरुले चुनाव प्रचारप्रसार गरेको उजुरी परेसँगैै आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सचेत गराएको हो । 

आईतवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै निर्वाचन आचारसंहीता कन्द्रिय अनुगमन समितिका संयोजकसमेत रहेका आयुक्त रामप्रसाद भण्डारीले आचारसंहीताअनुसार निर्वाचन हुने दिनभन्दा १७ दिन अगाडीदेखि (कार्तिक १८ गतेदेखि) मात्रै प्रचारप्रसार गर्न पाइने बताए । 

Advertisement

उनले उम्मेदवारहरुले घरदैलो कार्यक्रम गर्न पाउने र त्यसमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने प्रावधानलाई पनि पालना गर्न सचेत गराए । घरदैलोमा बाजागाजा र तामझाम गरिरहेको उजुरी आयोगमा परेको भन्दै भण्डारीले त्यस्ता कार्य नगर्न आग्रह गरे । 

घरदैलोमा तामझाम र बाजागाजा गर्नु पनि आचारसंहिता विपरित हुने उनको भनाइ छ । आचारसंहीताको परिधिभित्र बसेर कानूनी सजाय नपाउनेगरी घरदैलो गर्न भण्डारीले उम्मेदवारहरुलाई आग्रह गरे । 

उनले भने, ‘दलको प्रतिनिधिहरुको सहमतीमासमेत बनेको आचारसंहीताले निर्वाचन हुने दिनभन्दा १७ दिन अगाडीबाट निर्वाचन प्रचार–प्रसार गर्न पाइन्छ । त्यो भन्दा अगाडी निर्वाचन प्रचारप्रसार गर्ने लगायतका क्रियाहरु गर्न पाइँदैन भनेर आचारसंहीताले निषेध गरेको छ । घरदैलो गर्न पाउने पनि हामीले भर्खर आचारसंहीता संशोधन गरेर दलहरुकै आग्रहमा घोषणा गरिदिएका छौँ । घरदैलो गर्दाखेरी पनि उहाँहरु मत माग्न मतदाताको घरमा जाँदाखेरी २५ जनाभन्दा बढी जान पाउनुहुन्न । २५ जना पनि बाजागाजा, तामझाम गरेर जान पाइँदैन । आचारसंहीताले निषेध गरेको छ ।’ 

भण्डारीले थपे, ‘थुप्रै ठाउँबाट उजुरी कसरी आइरहेको छ भने यसरी घरदैलो कार्यक्रममा उम्मेदवारहरु जाँदाखेरी बढी तामझाम गरेर जानुभयो । बाजागाजा बजाइदिनु भयो । नाचगान गर्नुभयो र उहाँहरुले भोजभतेर पनि गर्न शुरु गर्नुभएको छ भन्ने कुरो हामीकहाँ उजुरी परेको छ । यो उजुरीको सम्बन्धमा हामी मसिनोसँग छानबिन गरिराखेका छौँ । धेरै दलहरुलाई स्पष्टीकरण पनि सोधिराखेका छौँ । कतिपय उम्मेदवारहरुले उधारो भिसापनि बाँड्न शुरु गर्नुभएको छ । खाडी मुलुकमा रोजगारी दिन्छु तँ यहाँ जाने भनेर उधारो भिसा शुरु गर्नु भएको छ । त्यो गर्न पाइँदैन आचारसंहीताले निषेध गर्छ । यदी त्यसो हो भने उहाँहरुलाई कारबाहीको विषय हुन्छ । स्थानिय स्तरमा हाम्रो निर्वाचन अधिकृतहरुले कारबाही गर्नुभयो ठिकै हो । यदि त्यहाँबाट कारबाही गर्नुभएन भने आयोगले कठोर निर्णय गरेर कारबाही गर्नुपर्ने हुन्छ । त्यसो भएको हुनाले सम्पूर्ण राजनीतिक दलका उम्मेदवारहरुलाई आयोगका तर्फबाट म के आग्रह गर्न चाहन्छु भने अहिले घरदैलो गर्न सम्मलाई आचारसंहीताले छुट दिएको हो । घरदैलो गर्ने प्रयोजनका लागि पनि निश्चित एउटा सिमा निर्धारण गरेको छ । जे पायो त्यही गरेर घरदैलो गर्न पाइँदैन । आचारसंहिता अध्ययन गरिदिनुस् उम्मेदवारहरुले । त्यसको परिधिभित्र बसिदिनुस् । र त्यो परिधिभित्र बसेर कानूनले सजाय नपाउनेगरी घरदैलो गरिदिनुस् भन्ने आयोगको तर्फबाट सम्पूर्ण उम्मेदवारहरुलाई म आग्रह गर्न चाहन्छु ।’

उनले उम्मेदवारहरुले आफू राम्रो र अरु नराम्रो भनि प्रचारप्रसार गर्न नपाइने उल्लेख गरे । उम्मेदवारहरुलाई आफ्नो घोषणापत्र अनुरुप र आफूले गर्ने कामहरुको मात्रै प्रचारप्रसार गर्न भण्डारीको सुझाव छ । अरु दल र स्वतन्त्र उम्मेदवारहरु नराम्रो भनि प्रचार गर्न नपाइने उनले बताए । 

भण्डारीले प्रचारप्रसारको क्रममा आचारसंहीता उल्लंघन भएमा आयोगले उम्मेदवारको मनोनयनपत्र खारेजसम्म गर्नसक्ने बताए । उनले भने, ‘फलानो नराम्रो आफू राम्रो भनेर उहाँहरु प्रचारप्रसारमा जानुभएको छ । आफू राम्रो । अर्काको दलको र स्वतन्त्र उम्मेदवार नराम्रो भन्न पाइँदैन । आफू राम्रो मात्रै भनेर जानुस् न । म यो नीति तथा कार्यक्रम गरेर जान्छु । म यो विकास निर्माणको काम गर्छु भनेर आफ्नो घोषणापत्रमा जे उल्लेख गर्ने हो, त्यो सबै स्पष्ट देखिने गरी जानुस् । मेरो घोषणापत्र ठिक, अर्काको बेठिक भन्न पाइँदैन । कानूनको परिधिभित्र बसेर निर्वाचन प्रचारप्रसार गरिदिनुपर्यो । यदी निर्वाचन प्रचारप्रसार गर्दाखेरी यो आचारसंहीतालाई उल्लंघन गरिदिनु भयो भनेदेखि आयोगले कठोरतापूर्वक उहाँहरुलाई कारबाही गर्नुपर्छ । उहाँहरुको मनोनयनपत्र खारेज पनि हुनसक्छ ।’

Advertisement

Advertisement