आईकाओले नेपालमा पहिलोपटक गर्यो उड्डयन क्षेत्रको तालिम

Advertisement

काठमाडौं । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले पहिलोपटक उड्डयन क्षेत्र अन्तर्गतको तालिम आयोजना गरेको छ । आज राजधानीमा आयोजित कार्यक्रम गरी संगठनले नेपालमा पाँच दिने कार्यक्रम सुरु गरेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले  पाँच दिनको पहिलो कार्यक्रम नेपालमा सुरु गरेको हो । 

उक्त अवसरमा संगठनका महासचिव जुआन कार्लोस सलाजारले यो तालिममार्फत विश्व उड्डयन सञ्जाल विस्तारसँगै वायुसेवा कम्पनीहरुलाई आर्थिकरुपमा मजबुत हुन टेवा पुग्ने बताए । उनले भने, ‘उड्डयन मात्र यस्तो उद्योग हो जसले व्यापार, पर्यटन विस्तारका लागि महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।’ 

Advertisement

कोभिड–१९ पछि उड्डयन उद्योग विस्तारका लागि सहकार्य गर्नका लागि यो गुरुयोजना तालिम आयोजना गरिएको महासचिव सलाजारले बताए ।  ‘सो तालिमले विभिन्न मुलुकको हवाई यातायात, उड्डयन सुरक्षा, सुविधा, क्षमता, वातावरण प्रदूषण नियन्त्रण लगायत केन्द्रित हुने,’ उनले भने । 

त्यस्तै, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले  पनि संगठनको पहिलो गुरुयोजना तालिम सुरुमै नेपालमा आयोजना गरिएकोमा आभार व्यक्त गरे । उनले थपे, ‘आर्थिक विकासका लागि  महत्त्वपूर्ण भूमिका खेल्दै आएको हवाई यातायातको क्षेत्रलाई तालिम उपयोगी हुने छ ।’ यो तालिमले कोभिड पछिको उड्डयन उद्योग र योसँग जोडिएका विभिन्न आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव पर्ने उनको भनाइ छ । 

प्राधिकरणका अनुसार पाँच दिने उक्त तालिममा नेपाल, पाकिस्तान, भारत, बंगलादेश, श्रीलंका लगायत विभिन्न मुलुकका २६ जना प्रतिनिधिको सहभागिता छ । यो सत्र आयोजनाका लागि चीन सरकारले आर्थिक सहयोग गरेको छ ।

Advertisement

Advertisement