Advertisement

काठमाडौं । लौरो अभियान अन्तर्गत नुवाकोट क्षेत्र नम्बर १ (ख) बाट प्रदेश सभा सदस्यका लागि स्वतन्त्र उमेद्धारी दिएका दिपेश ढुंगानाले पूराना नेताहरुले सिर्जना गरेको राजनीतिक विकृति र अराजकता अति भएकाले आफूहरुले लौरो अभियानअन्तर्गत उम्मेद्वारी दिनु परेको बताएका छन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले विगतको भन्दा अहिलेको चुनाव फरक रहेको बताउँदै मंसिर ४ को चुनावबाट पूराना दल र नेताहरुले नसोचेको परिणाम आउने बताए । ढुंगानाले अवसर पाउँदा पनि काम गर्न नसकेका अयोग्य नेताहरुलाई अबको चुनावले जनताले भोट नदिने विश्वास व्यक्त गरे । 

Advertisement

उनले सुरुमा स्वतन्त्र भने पनि पछि कागजीरुपमा दल दर्ता गरेर लौरो अभियानलाई अघि बढाइएको बताउँदै आफूहरु नामले भन्दा पनि कामले फरक हुने बताए । आफ्नो निर्वाचन क्षेत्रमा नेकपा एमालेका उम्मेदवार जनतामाझ खासै परिचित नरहेकोले आफ्नो मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका रमेश महत रहेको बताए । 

सुरुमा उम्मेद्वारी घोषणा गर्दा चुनाव जितिन्छ भन्ने खासै विश्वास नभए पनि पछिल्लो समयमा आफ्नो पक्षमा देखिएको माहौलले गर्दा चुनाव जितिन्छ भन्ने पूर्ण विश्वास भएको बताउँदै उनले आफूले १८ हजारभन्दा बढी मत ल्याएर विजयी हुने दावी गरे । नुवाकोट १ (ख)मा करिव ४० हजार मतदाता छन् । 

आफ्नो निर्वाचन क्षेत्रका ठूला दलका स्थानीय नेताले सिस्डोलको फोहोरको समस्यामा राजनीति गरेर लामो समयदेखि फाइदा मात्रै लिने गरेको देखेपछि प्रभावित क्षेत्रका जनता रुष्ट बनेको ढुंगानाको भनाई छ । उनले फोहोरमैलालगायत स्थानीयस्तरका समस्याका बारेमा कहिल्यै आवाज नउठाउने र यस क्षेत्रमा नाकमुख पनि नदेखाउनेहरु अहिले चुनावमा उम्मेदवार हुन आएको बताउँदै नुवाकोट १ (ख)का जनताले अहिले विवेकपूर्ण मतदानमार्फत उनीहरुलाई अस्वीकार गर्ने बताए । 

नेता ढुंगानाले पाँच वर्षमा फोहर मैला लगायतका विषयमा ठूला आन्दोलन चर्किंदा पनि पूराना र ठूला भनिएका दलका नेताहरु केही नबोलेपछि आपूm चुनाव उठ्न बाध्य रहेको बताए । उनले आफू जहाँ जाँदा पनि मतदाताले काठमाडौं र धरानको मेयरसँग जोडेर हेर्ने गरेको सुनाउँदै मतदाताले अब नयाँ नयाँ अनुहार आउनुपर्छ, पूरानालाई कुनै पनि हालतमा भोट हाल्न हुन्न भन्ने अठोट लिएको बताए ।  

साथै, ढुंगानाले देशबाट वौद्धिक जनशक्तिको रुपमा रहेका युवाहरुको पलायन रोक्न पनि आफ्नो उम्मेवारी रहेको बताए । उनले देशमै केही गरौं भन्ने युवाहरुलाई अवसरको विकास गर्नुपर्छ भन्दै उनले आफूसँग विकासको एजेण्डाहरु पनि रहेको बताए । 

Advertisement

Advertisement