प्रचण्डले जनयुद्धको पहल गोरखाबाटै गर्नुभएकोले चुनाव लड्न गोरखा जानुभएको होः श्रेष्ठ

Advertisement

काठमाडौं । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गोरखा २ बाट नेपालको इतिहासमा नै बढी मतान्तरले विजय गराउने दावी गरेका छन् । 

बुधवार आफ्नो पार्टीको कार्यक्रममा उनले उनले गोरखा २ मा पंचण्डको जित सुनिश्चित भएको दावी पनि गरे । श्रेष्ठले उनी एउटै निर्वाचन क्षेत्र बनाउने र त्यसमा डुबिरहने संसदवादको मान्यतालाई लागू नगर्नका लागि हरेक निर्वाचनमा फरकफरक क्षेत्रबाट उठेको बताउँदै उनले प्रचण्ड युवा अवस्थामा गोरखामा शिक्षण पेशामा आवद्ध भएको, जनयुद्ध शुरु गर्ने पहल गोरखाबाटै भएको लगायतका विभिन्न भावनात्मक कारणले गर्दा गोरखाबाट उम्मेदवार बनेको जिकिर गरे । 

Advertisement

समृद्धि र समाजवादको मोडल तयार गर्ने उपयुक्त थलो गोरखा भएकाले पं्रचण्डले गोरखा रोजेको श्रेष्ठको भनाई थियो । उनले भने, ‘नेपालको राजनीतिमा प्रचण्ड मात्रै त्यस्तो नेता हुनुहुन्छ, जसले पुँजीवादी संसदवादको एउटा मान्यता कि एउटै निर्वाचन क्षेत्र बनाउने र त्यहीँ डुबिरहने, त्यसलाई व्यवहारमा लागू नगर्ने, त्यो बाटो नहिँड्ने एउटै मात्र नेता हुनुहुन्छ प्रचण्ड । उहाँ काठमाडौं, सिरहा, काठमाडौं चितवन लड्नुभयो । संसदवादको दलदलबाट माथि उठ्नको लागि एउटै निर्वाचन क्षेत्रमा केन्द्रित नहुने सोचको साथ उहाँ बाहिर जान चाहनुहुन्थ्यो । त्यस अन्तर्गत अहिले गोरखा जानुभएको छ ।’ 

नेता श्रेष्ठले पार्टीमा धेरै गुट तथा उपगुट भएको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले पार्टीभित्र आफू र अध्यक्ष प्रचण्डबीचमा विभाजित गराउन खोजिएको भन्दै आफूहरु असाधारण एकतामा रहेको दावी पनि गरे । एक अर्काको पक्षधर लिएर गाली गर्ने काम नगर्न उनले चेतावनी पनि दिए । 

श्रेष्ठले पार्टी भित्र रहेका गुट, उपगुटलाई अन्त्य गर्न आफूहरु लागिपरिरहेको बताउँदै भने, ‘धेरै गुट भोगिएको छ पार्टीमा । धेरै भयो गुट, उपगुट । पार्टी कहाँ छ ? खोज्नुपर्ने कहिले कहिले । तर एउटा कुरा आज म तपाईंहरुलाई भन्छु, अध्यक्ष र वरिष्ठ उपाध्यक्षलाई विभाजित गर्ने । कहिले अध्यक्षको पक्षधर भनेर वरिष्ठ उपाध्यक्षको गाली गर्ने । कहिले वरिष्ठ उपाध्यक्षको पक्षधर भनेर अध्यक्षलाई गाली गर्ने दिन गए । हामी असाधारण एकतामा छौँ । त्यस प्रकारको जालिझेली काममा नलाग्नु होला । बाँकी जति गुट, उपगुट छन् ती पनि हामी अन्त्य गर्न सबै सिनियर कमरेडसँग वहस गर्दैछौँ । नत्रभने कसरी पार्टी बन्छ ? मेरो पनि नेता, तपाईंहरु सबैको नेता अहिले अध्यक्ष प्रचण्ड नै हो । त्यहीँ केन्द्रीत र एकीकृत हुने हो । तर अध्यक्ष प्रचण्डलाई नेता मान्न वरिष्ठ उपाध्यक्षको बिरोध गर्नुपर्छ भन्ने प्रवृत्ति पनि घातक हो । अध्यक्ष मुल नेता हो । अध्यक्ष पछिको नेता वरिष्ठ उपाध्यक्ष नै हो । दुईवटा नेतृत्व मिलेर पदाधिकारीहरु एकतावद्ध गरेर, स्थायी कमिटी पनि एकतावद्ध भएर यो पार्टीलाई रुपान्तरण र पुनर्गठन गरिन्छ ।’

विगतमा एमसीसी पारित नगर्न सघाउने शर्तमा नेकपा (एमाले)का अध्यक्ष केपी ओलीलाई माओवादीले प्रधानमन्त्री बनाउन तयार रहेको श्रेष्ठले दाबी गरे । उनले ओलीलाई प्रधानमन्त्री र चुनावी तालमेलको अफरसहित एमसीसी पारित नगर्न प्रस्ताव गरेको भएपनि ओलीले सो प्रस्ताव अस्वीकार गरेको जिकिर गरे । 

चुनावमा वाम तालमेलको प्रस्ताव पनि ओलीबाट अस्वीकार भएको श्रेष्ठको भनाई छ । उनले भने, ‘अध्यक्षको नेतृत्वमा हामी त्यतिखेर एमसीसी पारित नहुँदा नेकपा (एमाले)को केपी ओली सहितको टोलीसँग वार्ता गर्न गर्यौं । हामीले नै प्रस्ताव राख्यौँ त्यतिखेर तपाईंहरु एमसीसी असफल गर्न साथ दिनुहोस् हामीलाई । हामीले भन्यौँ यो धेरै संवेदनशील मुद्दा हो एमसीसी भन्ने हामीलाई लाग्छ । यो शुद्ध आर्थिक सहयोगको परियोजना मात्रै होइन । त्यसकारणले यो एमसीसीलाई असफल पारौँ । हिजो तपाईंहरुले जेसुकै भनेको भएपनि अब राष्ट्रियताको मुद्दामा फेरि मिलौँ । एमसीसीलाई असफल पार्न साथ दिनुहोस् । त्यसपछि यो गठबन्धन टुट्छ । तपाईं नै प्रधानमन्त्री हुनुस् । चुनावमा फेरि वाम तालमेल गरेर जाऔँ भनेकै हो । तर त्यतिखेर केपी ओलीले फेरि एमसीसी ? के राष्ट्रघात ? भनेर भन्नुभयो । र हाम्रो प्रस्तावलाई अस्वीकार गर्नुभयो ।’

नेता श्रेष्ठले चार पार्टीको गठबन्धन भए पनि नेपाली काँग्रेसभित्रको गुट उपगुटका कारण ६ पार्टीको गठबन्धनजस्तो भएको टिप्पणी गरे । काँग्रेसभित्र शेरबहादुर देउवाको अलावा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा र नेता शेखर कोईरालासँग पनि छलफल गर्नुपर्ने अवस्था रहेको सुनाउँदै उनले गठबन्धनको सीमा र जटिलता रहेको बताए । 

श्रेष्ठले गठबन्धनभित्र विचार, दृष्टिकोण, सिद्धान्त र कार्यक्रम नमिलेको बताए । यद्यपी सिट बाँडफाँटमा सहमति जुटेर चुनावी मोर्चामा जानु सुखद् भएको उनको भनाई छ । 

Advertisement

Advertisement