कमेडियन अपूर्व क्षितिज सिंहविरुद्ध मुद्दा दायर भएपछि सरकारको चौतर्फी आलोचना

Advertisement

काठमाडौं । कमेडियन अपूर्व क्षितिज सिंहविरुद्ध मुद्दा दर्ता गरिएपछि चौतर्फीरुपमा सरकारको चर्को आलोचना भएको छ । उनलाई पुनः पक्राउ गरी सरकारले काठमाडौं जिल्ला अदालतमा बुधबार चार अलग–अलग मुद्दा दायर गरेको थियो । 

जिल्ला सरकारी वकिल कार्यालयले तयार पारेको एउटै अभियोगपत्रमा अपूर्वले फौजदारी अपराध संहिता २०७४ का दफा ६५, १६५, १६६ र १६८ अनुसार कसुर गरेको जिकिर गर्दै मुद्दा दायर गरिएको छ । 
अभियोगपत्रमा उनले दफा १६६ को उपदफा १ बमोजिम जातीय भेदभाव गरेको भन्दै त्यसैको उपदफा २ बमोजिम ३ वर्षसम्म कैद वा तीन हजारसम्म जरिवाना वा दुवै मागदाबी गरिएको छ । 

Advertisement

यसअघि सिंहलाई पक्राउ गरेर लामो समय हिरासतमा राखिएसँगै सरकारको आलोचनापछि उनलाई हिरा गरिएको थियो । तर अहिले एकाएक पुनः पक्राउ गरी मुद्दा दायर गरिएपछि अहिले सामाजिक सञ्जालमा सरकारको चर्को आलोचना भइरहेको छ । सिंहले व्यङ्ग्य प्रस्तुत गर्ने क्रममा नेवार समुदायलाई होच्याउने काम गरेको आरोपमा पक्राउ गरिएको थियो । 

सिंहविरुद्ध सरकारले दर्ता गरेको मुद्दामा अपमानजनक वा अमानवीय व्यवहार गरेको अभियोगमा दफा १६८ को उपदफा २ बमोजिम पाँच वर्षसम्म कैद र ५० हजार जरिवाना दाबी गरिएको छ ।

यस्तै उनले सामाजिक रीतिथितिमा खलल पुर्‍याएर दफा १६५ को उपदफा १ बमोजिमको कसुर गरेको जिकिर गर्दै सोही दफाको उपदफा २ बमोजिम १ वर्षसम्म कैद वा १० हजारसम्म जरिवाना हुनुपर्ने मागदाबी सरकारी वकिलको कार्यालयले गरेको छ । 

सिंहविरुद्ध दायर अर्को मुद्दामा संहिताको दफा ६५ को उपदफा १ बमोजिम सार्वजनिक शान्ति खलल पुर्‍याएको भन्दै त्यसैको उपदफा २ बमोजिम १ वर्षसम्म कैद र १० हजारसम्म जरिवाना हुनुपर्ने माग गरिएको छ ।

जाति समुदायको भावनामा आघात पुर्‍याएको भन्दै नेवार समुदायका अभियन्ताहरूले उजुरी दिएपछि अपूर्वलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान थालेको थियो । युट्युबमा अपलोड गरेको भिडियो हटाएर माफी मागेको भिडियो अपलोड गरेका अपूर्व आफैं प्रहरी कार्यालय पुगेका बेला पक्राउ परेका थिए । 

अभियन्ताको दबाबमा अपूर्वमाथि सरकारले बदनियतपूर्वक मुद्दा दायर गरेको उनका कानुन व्यवसायीको भनाइ छ ।

Advertisement

Advertisement