नवौं खेलकुदमा आर्मी च्याम्पियन, कस्ले कति पदक हात पारे ?

Advertisement

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लवले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा प्रथम भएको छ । ३६ खेलमा ३९६ स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा आर्मीले १७२ स्वर्ण पदकसहित उपाधि कब्जा गरी ह्याट्रिक पूरा गरेको हो । 

आर्मीले १७२ स्वर्ण १०९ रजत ८९ कास्य पदकसहित ३७० पदक पहिलो पटक निर्माण गरिएको रनिङ ट्रफि प्राप्त गर्यो । आर्मीले यस अघिका सातौं र आठौं संस्करणको उपाधिसमेत जितेको थियो ।
कुल ६४ स्वर्ण ७३ रजत र ८१ कास्यसहित २१८ पदकसहित सशस्त्र प्रहरी बलको एपिएफ क्लव दोस्रो, ६१ स्वर्ण ६१ रजत र ७३ कास्य गरी १९५ पदक सहित नेपाल प्रहरी क्लव तेश्रो भएको छ ।
घरेलु मैदानको सदुपयोग गर्दै गण्डकी प्रदेश चौथो तथा प्रदेशहरुमध्ये पहिलो हुन सफल भयो । वागमतीलाई पछि पार्दै गण्डकीले ३२ स्वर्ण, ३१ रजत ५७ कास्य सहित १२० पदकसहित समग्रमा चौथो भयो । वागमती प्रदेशले २४ स्वर्ण ४७ रजत र ७४ कास्य पदक सहित १४५ पदकसहित पाचौं स्थानमा रहेको छ ।

Advertisement

प्रदेश १ ले १० स्वर्ण २३ रजत र ५० कास्य पदकसहित छैटौं भएको छ । १० स्वर्ण, १० रजत ४३ कास्य पदकसहित सुदूरपश्चिम प्रदेश सातौं, एनआरएनए १० स्वर्ण ९ रजत ७ कास्यपदक सहित आठौं, ६ स्वर्ण २२ रजत र ४० कास्य पदक सहित लुम्बिनी प्रदेश नवौं स्थानमा रह्यो । मधेस प्र्रदेश दशौं स्थानमा र कर्णाली प्रदेश अन्तिम तथा एघारौैं स्थानमा रहेको छ । 

मधेस प्रदेशले ५ स्वर्ण ८ रजत र २६ कास्य पदक जित्दा कर्णाली प्रदेशले २ स्वर्ण ४ रजत र १२ कास्य पदक जितेको हो । शुरुमा ४०४ स्वर्ण पदकमा प्रतिष्पर्धा हुने घोषणा गरिए पनि प्याराग्लाइडिङ, पौडी र आर्चरीमा २–२ स्वर्ण पदक र स्क्वास र सफ टेनिसमा एक एक स्वर्ण पदकको लागि खेल स्थगित भएको प्रविधिक संयोजक हिमाल दाहालले बताए । गण्डकीका ८ जिल्लामा उक्त प्रतियोगिता भएको हो भने सुटिङ र पुरुष क्रिकेट काठमाडौंमा भएको थियो । 

नवौं राष्ट्रिय खेलकुदको समापन समारोहमा पोखरा रंगशालामा आगामी दशौं राष्ट्रिय खेलकुद आयोजनाको जिम्मेवारी पाएका कर्णालीका सामाजिक विकासमन्त्री यज्ञबहादुर विसिलाई बिहीबार दशौँ राष्ट्रिय खेलकुदको झण्डा प्रधानमन्त्री शेरबहादुर देउवाले हस्तान्तरण गरेका थिए । 

Advertisement

Advertisement