‘भीम रावललाई मात्रै कति चाहियो ? उपप्रधानमन्त्री, गृह, रक्षा....नखाएको कुनै मन्त्रालय छैन्’

Advertisement

ललितपुर । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले केही नेताहरुले निर्वाचनमा टिकट नपाएकोमा रुवाबासी गर्नुपर्ने आवश्यकता नरहेको तर्क गरेका छन् । भीम रावल र घनश्याम भुसालप्रति संकेत गर्दै उनले अवसरै अवसर पाएकाहरुले सधैं टिकट पाउनुपर्ने छ र ? भनि प्रश्न समेत गरे । 

शनिबार ललितपुरमा आयोजित कार्यक्रममा ओलीले पार्टीको पक्षमा एक शब्द पनि नबोलेकाहरुलाई टिकट नदिएर सो अवसर अरुलाई दिइएको स्पष्टीकरण समेत दिए । उनले २०४८ सालदेखि पद, ओहोदा र सुविधा भोग गरिरहेकाहरु एकाधले अरुलाई पनि पालो दिनुपर्ने भएकाले उनीहरुले फेरि टिकट नपाउनु स्वभाविक भएको उल्लेख गरे । 

Advertisement

नेता ओलीले एमालेमा न्याय हुने र त्यो न्याय सापेक्षामा आधारित हुने भन्दै आवश्यकताभन्दा बढि अवसर पाएकाहरु फेरि पनि अवसरको पछि कुँदेको बताए ।  त्यस्ता प्रवृत्तिको पछि लाग्न नहुने उनको तर्क छ । ओलीले आगामी दिनमा योग्यता, क्षमता र योगदानको आधारमा हरेकलाई अवसर दिने प्रतिवद्धता समेत व्यक्त गरे । 

उनले भने, ‘केही नबुझेर केही बुझिबुझिकन फलानो व्यक्तिले किन पाएन ? दुई जना मान्छेका लागि । अनि काशिनाथ अधिकारी जस्तो अरुले त हिजो अस्तीसम्म भन्नुस्न असोज ३ गतेसम्म । असोज ३ गतेसम्म सांसद रहिरहेका मान्छेले, २०४८ सालदेखि सांसद भएका छन, भएका छन । पद, सुविधा, ओहोदा, उपप्रधानमन्त्री तीनैले खाएका छन, गृहमन्त्री, रक्षामन्त्री, भौतिकमन्त्री, सञ्चारमन्त्री, पर्यटनमन्त्री, युवा तथा खेलकुदमन्त्री, महिला, बालबालिकामन्त्री । नखाएको कुनै मन्त्रालय छैन । यसपल्ट अस्ती असोज २ गते बल्ल मुख खाली भएको छ । उसलाई किन बनाइएन भनेर रुवाबासी छ । अनि एकै जना मान्छेले मात्रै पाईरहनुपर्ने छ र ? काम कस्तो गरेको छ, त्यो नभनौं । पार्टीको पक्षमा एक शब्द कहिल्यै बोलेको होइन । पार्टीको हितमा एक शब्द बोलेको होइन । आन्दोलनको हितमा एक शब्द बोलेको होइन । अरु अरु ठाउँमा तमासा देखाइएको छ । त्यस्तो मान्छे एकाधले पाएन । स्वभाविक हो नि । पालो गर्नु पर्दैन ? अरुलाई पनि त पालो गर्नु पर्छ नि त ।’ 

ओलीले परमादेशबाट बनेको सरकारलाई हटाएर देशलाई स्थिरता र विकासको बाटोमा अघि बढाउन सक्ने सरकार मुलुकलाई आवश्यक रहेको दोहोर्याए । उनले परमादेशी सरकार बनाउने गम्भीर गल्ती विगतमा गरे पनि अव न्यायालयले त्यस्तो खालको गल्ती नगरोस् भन्ने पक्षमा आफ्नो पार्टी रहेको बताए । 

Advertisement

Advertisement