झुठ फेसबुक पेज तथा ग्रुपहरू हटाउन आयोगको चेतावनी, नगर्नेलाई एक लाख जरिवाना

Advertisement

काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारलाई लाञ्छना लगाउँदै बनाइएका झुठ फेसबुक पेज तथा ग्रुपहरू हटाउन चेतावनी दिएको छ । आयोगले मंगलबार विज्ञप्ति जारी गरेर सामाजिक सञ्जालमा विभिन्न पेज तथा ग्रुप निर्माण गरी व्यक्तिगत लाञ्छना लगाइएकोप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै त्यस्ता पेज र ग्रुप हटाउन निर्देशन दिएको हो ।

सामाजिक सञ्जालमा असफल भइसकेका नेता तथा दलहरुलाई पुनः भोट दिएर नजिताउँ भन्दै ‘नो नट अगेन’ जस्ता अभियान व्यापक भएपछि आयोगले यस्ता पेज र ग्रुप बनाएर उम्मेदवार रहेका दलका नेताहरुबारे विभिन्न लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्य तथा श्रव्यदृश्य सामग्री प्रकाशन तथा प्रसारण नगर्न चेतावनी दिएको हो । 

Advertisement

नेताहरूलाई लाञ्छना लगाउँदै बनेका त्यस्ता ग्रुप र पेज तत्काल हटाइ अब यस्ता किसिमका गतिविधि नगर्न सम्बन्धित सबैलाई जानकारी गराएको आयोगले भनेको छ, ‘झुठा फेसबुक पेज तथा ग्रुपहरु सिर्जना गरी दलका नेताहरुविरुद्ध प्रचारप्रसार गर्ने कार्य विद्युतीय (इलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ को दफा ४७ निर्वाचन (कसुर तथा सजाय ऐन, २०७३ को दफा २३ को उपदफा (१) तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (ञ), (ट), (ठ) र (ड) को प्रतिकुल रहेको देखिन्छ ।’

आयोगले यस्तो कार्य गर्नेलाई एक लाख रुपियाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजायको व्यवस्था रहेको स्मरण पनि गराएको छ । 

Advertisement

Advertisement