चुनावपछि ऐतिहासिक सम्पदाहरुको डिजिटल प्रोफाइल तयार गर्ने उर्जामन्त्रीको आश्वासन

Advertisement

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले चुनावपछि ललितपुरका ऐतिहासिक सम्पदाहरुको डिजिटल प्रोफाइल तयार गर्ने आश्वासन दिएकी छन् । सत्तारुढ गठबन्धनको ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार भुसालले आगामी दिनमा ललितपुरका ऐतिहासिक सम्पदा, मठ, मन्दिर र गुम्बाहरुको संरक्षण तथा प्रवद्र्धन गर्दै ‘डिजिटल प्रोफाइल’ तयार पार्ने बताएकी हुन् । 

बुधवार ललितपुर क्षेत्र नं. ३ को वाम–लोकतान्त्रिक गठबन्धनको घोषणापत्र सार्वजनिक कार्यक्रममा उनले कला, संस्कृति र सम्पदाको संरक्षण तथा प्रवद्र्धन गर्दै आकर्षक पर्यटकीय ‘प्रोडक्ट’ उत्पादनका लागि स्थानीय तथा सरोकारवाला निकायसँग परामर्श गरेर स्पष्ट नीति निर्माण गरी कार्यान्वयन गरिने बताइन् । 

Advertisement

रथ, जात्रा, पर्व, खाना, पहिरन तथा गरगहनाजस्ता मौलिक संस्कृतिको व्यापक प्रवद्र्धन गरिने बताउँदै भुसालले हस्तकला केन्द्रहरूको स्तरोन्नति गर्ने, पर्यटकीय चक्रपथ, हाइकिङ तथा साइक्लिङ मार्ग निर्माण गर्ने बताइन् । त्यस्तै स्थानीय हिटी, पोखरी, राजकुलो, तालतलैयाको पुनःनिर्माण, संरक्षण र उपयोग गरिने पनि उनको आश्वासन थियो । कुनै पनि विधायिकीको यस्ता काममा नभई नीति निर्माणमा मात्रै भूमिका हुने भए पनि भुसालले भने मतदातालाई प्रलाभन देखाएकी हुन् । 
 
मन्त्री भुसालले निर्माणाधीन वागमती, नख्खु, कर्मनासालगायत करिडोर सम्पन्न गरिने प्रतिवद्धता पनि व्यक्त गरिन् । उनले विकास निर्माणका निकायहरुबीच उचित समन्वयका लागि नीतिगत पहल गरिने बताइन् । अध्ययन सम्पन्न भएका ग्वार्को, सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर निर्माण गरिने बताउँदै भुसालले आफ्नो घोषणापत्रमा प्राकृतिक स्रोतको संरक्षण, उपभोग तथा स्थानीय स्रोतको सामुदायिकीकरण गरिने, स्वच्छ पर्यावरणका लागि विद्युतीय साधनकोे प्रवद्र्धन गरिने, जनसहभागितामुलक सरसफाई तथा वृक्षारोपणलाई प्रोत्साहन गरिने र कृषि पर्यटनको प्रवद्र्धन, खेतीयोग्य जमिनको संरक्षण, सहुलियतपूर्ण सिंचाईको व्यवस्था गरिने, कृषि उपजको व्यवस्थित संकलन तथा बजारीकरण गरिने आश्वासन पनि बाँडेकी छन् । 
 
मन्त्री भुसालले हरेक श्रमको आर्थिक मूल्यको समानताका लागि नीति निर्माण गरी कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएकी छन् । त्यस्तै महिला हिंसाको उन्मूलन र हरेक क्षेत्रमा सुरक्षित महिला र बालबालिका हुने विषय पनि समेटेकी छन् । भुसालले ललितपुरमा रहेका विकास साझेदार संस्थाहरूसँग प्रभावकारी सहकार्य गर्दै थप नयाँ नियोगलाई आकर्षित गर्ने, क्लव र समूहलाई सवल तुल्याई परिचालन गर्ने पनि बताइन् । त्यसैगरी शैक्षिक तथा उद्यम ऋणको कार्यान्वयनमा सहजीकरण गर्ने, ज्येष्ठ नागरिक र दीर्घ रोगीका लागि स्वास्थ्यमा विशेष पहुँचको सुनिश्चितता गर्ने तथा ज्येष्ठ नागरिकमैत्री सार्वजनिक संरचनाको निर्माण तथा प्रवद्र्धन गर्ने उनले बताएकी छन् । 
 

Advertisement

Advertisement