चुनाव जितेपछि मेलम्चीको पानी नआएकोमा प्रकाशमानको चासो, ‘सरकारले चासो दिएन’

Advertisement

काठमाडौं । चुनावअघिसम्म मेलम्ची खानेपानी आयोजनाबारे खासै चासो नदेखाएका काठमाडौं– १ का साँसद प्रकाशमान सिंहले चुनाव जितेसँगै यसबारे चासो देखाएका छन् । 

उनले मेलम्ची खानेपानी आयोजना सरकारले काम चलाउ मात्रै बनाएको भन्दै आफ्नै पार्टीको सरकारप्रति असन्तुष्टि पनि जनाए । सिंह नेपाली कांग्रेसका नेता पनि हुन् । उनले हालै सम्पन्न संसदीय निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता रवीन्द्र मिश्रलाई झिनो मतान्तरले हराएर जित हासिल गरेका थिए । 

Advertisement

विगतमा चुनाव जितेर गएपछि आफ्नो निर्वाचन क्षेत्रको विकास निर्माण र जनताको समस्यालाई पटक्कै वास्ता नगर्ने र संसदमा पनि कहिल्यै आवाज नउठाउने गरेको भन्दै चर्को आलोचना खेप्दै आएका सिंहले यस पटक भने चुनाव जित्नासाथै आफ्ना कार्यकर्ता लिएर मेलम्ची खानेपानी आयोजना अवलोकन गर्न बिहीबार पुगे । 

उनले काठमाडौंमा मेलम्चीको पानी ल्याउने कुरालाई महत्वका साथ व्यवस्थित रुपमा अघि बढाउन आवश्यक रहेको पनि बताए । सिंहले अर्बौं खर्च भइसकेको राष्ट्रिय गौरवको परियोजनाको सरकारी पक्षले चासो नदिएको कुरा स्थानीयले बताएको भन्दै अबका दिनमा सरकारले चासोका साथ मेलम्चीको पानी व्यवस्थित रुपमा काठमाडौं उपत्यकामा ल्याउन भूमिका खेल्नुपर्ने बताए । 

निर्वाचनका बेलामा काठमाडौंका जनताले मेलम्चीको पानी साँच्चिकै काठमाडौं आउने हो वा नेताहरुको चुनावी एजेण्डा मात्रै हो ? भन्नेजस्ता प्रश्न गरेकाले आफूले मेलम्चीको पानी काठमाडौं नआउनुको समस्या बुझ्न मेलम्ची पुगेको उनले  बताए । सिंहले सरकारले अहिले पनि मेलम्चीवासीका समस्या नसुनेको स्थानीयको गुनासो रहेको बताए । 

नेता सिंहले जटिलताको समयमा काम गर्दा पनि कर्मचारीहरुले तलव पाउन नसकेको बताउँदै कर्मचारीहरुको तलव र आवश्यक कामहरु अघि बढाउने कुरामा सरकारले कन्जुस्याँइ गर्नु नहुने बताए । उनले अब मेलम्चीको पानी ल्याउन दबाब दिने बताए । 

सिंहले काठमाडौंमा पानी पठाइसकेपछि उठेको २५ प्रतिशत पैसा स्थानीय पालिकाहरुलाई दिनपर्ने र त्यसमा कुनै तलमाथि हुनु नहुने स्थानीय तहको माग रहेको पनि बताउँदै सरकारले चासो नदिँदा अहिले मेलम्चीको पानीको व्यवस्थापन काम चलाउ मात्रै भइरहेको गुनासो पोखे । 

Advertisement

Advertisement