प्रधानमन्त्री दाहालद्वारा सपथ ग्रहणः आठ सदस्यीय मन्त्रिपरिषद्मा पौडेल बने अर्थमन्त्री

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन उपप्रधानमन्त्रीसहित आठ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । आइतबार मात्रै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहाल नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।  

मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री एवं अर्थमन्त्रीको जिम्मेवारी विष्णु पौडेलले सहालेका छन् । यस्तै, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको रूपमा नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्री एवं गृहमन्त्रीमा रवि लामिछाने छन् । 

Advertisement

अर्थमन्त्री पौडेलले यसअघि पनि अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।  

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका नेता श्रेष्ठले यसअघि पनि परराष्ट्रमन्त्री र गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । उपप्रधान एवं गृहमन्त्रीको जिम्मेवारी सम्हालेका लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्ष हुन् ।  

यस्तै, मन्त्रीहरू ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्रकुमार राई र अब्दुल खान पनि मन्त्रिपरिषद्मा सहभागी छन् । उनीहरुको जिम्मेवारी तोकिएको छैन । 

राष्ट्रपति भण्डारीद्वारा नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई शपथ
यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पद तथा गोपनीयताको शपथ गराएकी छिन् । 

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा आइतबार मात्रै प्रधानमन्त्रीमा नियुक्त दाहाललाई नेपालको ४४औँ प्रधानमन्त्रीका रुपमा पद तथा गोपनीयताको शपथ गराएकी हुन् । 

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको उपस्थिति थियो । 

समारोहमा पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलगायतको उपस्थिति थियो ।

समारोहमा संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, विभिन्न राजनीतिक दलका नेता, यहाँस्थित कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधि, सञ्चारकर्मीलगायतको उपस्थिति थियो ।

राष्ट्रपतिद्वारा उपप्रधानमन्त्री र मन्त्रीको शपथ
यता, राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त तीन उपप्रधानमन्त्री एवं मन्त्रीलाई आजै पद तथा गोपनीयताको शपथ गराएकी छिन् । 

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । 

यस्तै, राष्ट्रपति भण्डारीले मन्त्रीहरू ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्रकुमार राई अब्दुल खानलाई पनि पद तथा गोपनीयताको शपथ गराएकी थिइन् । उनीहरूको कार्यभार पछि तोकिनेछ । 

Advertisement

Advertisement