सपथ ग्रहणमा दौरा सुरुवाल लगाएका दाहालमा ‘टाई’ मोह कायमै

Advertisement

काठमाडौं । सरकार समर्थक राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनको आग्रहपछि सपथ ग्रहणमा पहिलो पटक दौरा सुरुवालमा देखा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल पुनः टाई लगाएर सार्वजनिक कार्यक्रममा प्रस्तुत भए । 

करबलका कारण एक दिन राष्ट्रिय पोषकमा देखिएका उनी पुनः सोही रुपमा प्रस्तुत हुन अनिच्छुक देखिएका हुन् । आज शनिबार चितवनको नारायणी माध्यमिक विद्यालयको कार्यक्रममा सहभागी भएका दाहाल दौरा सुरुवाल नभएर टाई लगाएर गएका हुन् । 

Advertisement

दश बर्षे हिंसात्मक द्धन्द्धपछि राजनीतिक मुल प्रवाहमा आएका दाहालले आफू क्रान्तिकारी नेताको रुपमा देखिन टाई लगाउँदै आएका छन् । 

आजको कार्यक्रममा दाहालले अब भाषण कम गर्ने र जनताका काम धेरै गर्ने बताए । उनले यो कार्यकालमा जनता र देशको पक्षमा काम गरेर प्रस्तुत हुने बताए ।  

अर्थतन्त्रको सुधार र सुशासनको पक्षमा काम गर्ने बताउँदै दाहालले त्यसको सुरुवात मन्त्रिपरिषदको पहिलो बैठकबाट भइसकेको जिकिर गरे । उनले भने, ‘मैले यो पटक हरेक दिन देश, जनता, सुशासन र विकासको पक्षमा काम गर्दै जाने प्रतिज्ञा गरेको छु । नेपाल र नेपाली जनताको आवश्यकतालाई सम्बोधन गर्दै जाने प्रतिबद्धता लिएको छु । मेरो बाँकी जीवन सुशासन र विकासको निम्ति समर्पित गर्ने भनेर प्रतिबद्धता गरेको छु ।’

पहिलो मन्त्रिपरिषद बैठकले देशको अगाडि रहेको अर्थतन्त्रमा सुधार र सुशासन कायम गर्नुपर्ने ऐतिहासिक आवश्यकताका क्षेत्रमा निर्णय लिएको जिकिर गर्दै उनले भ्रष्टाचार र बेथिति नियन्त्रण तथा जनताले विभिन्न ठाउँमा पाइरहेका सास्तिहरूलाई अन्त्य गर्ने निर्णय पनि पहिलो मन्त्रिपरिषद्बाट गरिएको बताए ।

Advertisement

Advertisement