अरु मुलुकको एउटै परराष्ट्र नीति हुन्छ, हाम्रो सरकार फेरिएपिच्छे फरक फरक हुनु दुखद्ः तिमिल्सिना

Advertisement

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले अरु मुलुकको परराष्ट्र नीति एउटा हुने गरे पनि नेपालमा भने सरकार परिवर्तन भएपिच्छे परराष्ट्र नीति परिवर्तन हुने गरेको भन्दै असन्तुष्टि पोखेका छन् । 

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले अन्य मुलुकमा कुनै पनि पार्टीको सरकार बने पनि एउटै परराष्ट्रनीति भएको तर नेपालमा भने एउटै परराष्ट्र नीति हुन नसकेको बताएका हुन् । 

Advertisement

नेपालमा सत्ता परिवर्तनसँगै परराष्ट्रनीतिहरु पनि परिवर्तन हुने गरेको तिमिल्सिनाको भनाई छ । उनले जुन सुकै सरकार आएपनि एउटै परराष्ट्र नीति हुनुपर्ने बताए । नेपालमा सहसचिव, सचिवहरु नै राजनीतिक दलहरुका मान्छे हुने गरेको र आफ्नो स्वार्थपूर्तिका लागि नीति, नियम बनाउँदा प्रणाली बिग्रिएको उनले बताए । 

तिमिल्सिनाले भने, ‘सचिव, सहसचिवहरु पार्टीका मान्छे भइदिँदा समस्या भइरहेको छ । उमेर कम भएको मान्छे ५८ मा उमेरहद बनाएर आफू त्यो स्थानमा हुन चाहनुहुन्छ । ६० वर्ष भएको मान्छे रोकेर आफू नै बस्न चाहनुहुन्छ । म त तपाईको पार्टीको हजुर, यो ऐन ल्यायौँ भनेर मन्त्रीहरुसँग जान्छन् । त्यसपछि के हुन्छ ? हाम्रोमा व्यवहारिक अभ्यास यही नै छ । धेरै यसरी बिग्रिएको छ । हाम्रो परराष्ट्रनीति के हो, अन्य देशमा हेर्दा जुनसुकै सरकार आएपनि हामीलाई हेर्ने एउटै दृष्टिकोण छ । तर हाम्रा त त्यही पार्टीकै मन्त्री फरकफरक भए भने फरक फरक हुन्छ । यस्तो कुरामा नीति अनुसन्धान प्रतिष्ठानले अध्ययन गर्न जरुरी छ ।’

उनले राष्ट्रिय सभाले पठाएका ५ वटा विधेयक अहिले शुन्यमा पुगेको भन्दै दुःख व्यक्त गरे । आगामी दिनमा मन्त्रिमण्डलको बिस्तार भइसकेपछि सम्बन्धित मन्त्रालयसँग पहिलेका विधेयकहरुलाई नै अघि बढाउन आग्रह गर्ने तिमिल्सिनाले बताए । 

उनले आफू अध्यक्ष भइसकेपछिको दोस्रो वर्षदेखिकै विधेयकहरु अहिलेसम्म प्रतिनिधि सभाबाट पास हुन नसकेको भन्दै संसदले लापरबाही गरेर अघि बढे संसदप्रतिको विश्वास गुम्ने बताए । 

Advertisement

Advertisement