उमेर पुग्नेको भोलिपल्टै राहदानी बनाएर बिदेशिनुपर्ने बाध्यता समाधान गरौंः लिङदेन

Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले देशलाई शिरमा राखेर मुलुकका समस्याहरु सामुहिक रुपमा समाधान गर्नेतर्फ अग्रसर हुनुपर्नेमा जोड दिएका छन् । 

सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले देशका हरेक क्षेत्रहरु अहिले ओरालो लागिरहेको भन्दै यसलाई सबै मिलेर समाधान गर्नेतर्फ सोच्नुपर्ने बताए । उमेर पुगेको भोलिपल्ट युवाहरु राहदानी बनाएर विदेश जानुपरिरहेको भन्दै लिङदेनले यो समस्यालाई तत्काल समाधान गरी स्वदेशमा नै रोजगारी सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराए । 

Advertisement

उनले कृषकहरुलाई कृषिको लागि मल र बीउ दिने कुरामा सरकारले बेलैमा सोच्नुपर्ने बताए । लिङदेनले विकास निर्माणको कामले पछिल्लो समय गति लिन नसकेको भन्दै विकास निर्माणका कामलाई पनि गति दिनुपर्ने आवश्यकता रहेको बताए । कसैले कसैलाई निषेध गरेर अघि बढ्ने अवस्था नरहेको भन्दै उनले सबैले सबैलाई स्वीकारेर आपसी समझदारीमा काम गर्नुपर्ने बताए । 

लिङदेनले, ‘अहिले देशको सबै क्षेत्र ओरालो लागेको अवस्था छ । अर्थतन्त्रको अवस्था भनिरहनु पर्दैन् । हामी कोही अनविज्ञ छैनौँ । बेरोजगारी कुन ढंगले बढेर भएको छ । उमेर पुगेको भोलिपल्ट हाम्रा युवाहरु राहदानी बनाउने र आमाको काख र बाउको काख, देश छोडेर परिवार पाल्न हिँड्नुपर्ने नियति बनेको छ । कृषिप्रधान देश भन्छौँ, कृषकले बाली लगाउने बेलामा मल पाउन सकेका छैनन् । मल पाउनु भाग्यको कुरा जस्तो भएको छ । विकास निर्माण कस्तो छ, सबैलाई थाहा छ । अहिले भएको पनि सुस्त छ ।’ 

उनले थपे, ‘हामी कसैले कसैलाई निषेध गरेर म मात्रै अघि बढ्छु भन्ने अवस्था छैन । हामी सबैका विचार भन्दा माथि देश छ, देश भन्दा माथि केही पनि छैन । देशलाई शिरमा राखेर मुलुकका यावत समस्याहरु सामुहिक रुपमा समाधान गर्नेतर्फ अग्रसर हुनुपर्छ । राप्रपा यो संसदमा जनादेश बमोजिम राष्ट्रियता, राष्ट्रिय एकता, सुशासन, सेवा प्रवाहको पक्षमा उभिने छ ।’

अध्यक्ष लिङदेनले राप्रपा देशको अस्थिरताको कारक नबन्ने प्रतिवद्धता जनाए । 

Advertisement

Advertisement