यो सरकार ढल्दैन्, कर्मचारीहरुले वर्तमान सरकार स्थायी हो भन्ने ठानेर काम गर्नुस्ः केपी ओली

Advertisement

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा उच्चस्तरिय राजनीतिक समितिका संयोजक केपी ओलीले वर्तमान सरकार स्थिर र स्थायी रुपमा चल्ने दावी गरेका छन् । 

सोमवार ‘सरकारको नीतिगत प्राथमिकता र न्युनतम कार्यक्रम’ सार्वजनिक कार्यक्रममा उनले वर्तमान सरकार स्थिरताको लागि बनाइएको बताउँदै यो सरकार स्थायी सरकार भएकाले प्रभावकारी रुपमा चल्ने बताएका हुन् । 

Advertisement

सरकार ढलाउने खेल नहुने भन्दै ओलीले सरकार ढल्छ कि भनेर नसोच्न सबैलाई आग्रह गरे । आफूहरु सरकार बनाउने र गिराउने खेलमा नलाग्ने उनले स्पष्ट पारे । ओलीले कर्मचारीहरुलाई वर्तमान सरकार स्थायी र स्थिर सरकार हो भन्ने ठानेर काम गर्न आग्रह पनि गरे । 

नेता ओलीले सरकारलाई एमालेले सम्पूर्ण रुपमा साथ, सहयोग र समर्थन दिने स्पष्ट पार्दै भने, ‘म साथीहरुलाई के भन्न चाहन्छु भने यो सरकार यसभित्र कुनै खेल हुन्छ कि ? कसैले फेरि यो सरकार ढाल्छ की ? यस्तो, उस्तो नसोच्नु होला । धेरै धेरै खेलाडीहरु दर्शक भएका छन् । र धेरै बाइसाइडर्स भएका छन् यसमा । रिङभन्दा बाहिर बसेर हेर्न बाध्य भएका छन् । यो यत्तिकै बनेको छैन् र यो सरकार बनाइएको स्थिरताको लागि हो । यो सरकार बनाउने र गिराउने खेल होइन । स्थिरताको लागि यो सरकार बनेको हो ।’ 

उनले थपे, ‘यो सरकार एउटा निकम्मा, निस्क्रिय, शिथिल, यथास्थितिमा रहने होइन । गतिशिल स्थायी सरकार हो । स्थायी तर गतिशिल । र प्रभावकारी सरकार हो यो । त्यस ढंगले यो चल्नेछ । नेकपा (एमाले) यस सरकार निर्माणमा सबभन्दा ठूलो घटक हो । ठूलो हिस्सा । मेरो पार्टीको अलिकति पनि, कुनै पर्सेन्टेज कहीँ कतै होइन, सम्पूर्ण रुपमा साथ, सहयोग, सर्मथन यस सरकारलाई छ । यो खालि टेम्पोरेरी एरेजमेण्टको कुरा होइन । पर्मानेण्ट सेटलमेन्टको कुरा हो यो ।’

अध्यक्ष ओलीले सरकारलाई विश्वासको मत दिनका लागि संसदमा भएका सबै राजनीतिक दलहरुलाई आग्रह गरे । उनले सरकार निर्माणमा छिटोछिटो राजनीतिक खेल भएको भनिएको भन्दै आफूहरुले छिटोछिटो नभइ सुविचारित ढंगले सरकार निर्माण गरेको बताए । ओलीले वर्तमान सरकार निर्माणका लागि पुस ४ गते पछिदेखि नै छलफल शुरुवात भएको भन्दै धरै छलफलपछि मात्रै यो सरकार बनाइएको बताए । 

नेता ओलीले सरकारप्रति कुनै आशंकाको दृष्टि नराख्न अन्तर्राष्ट्रिय मुलुकहरुलाई आग्रह गरे । उनले सरकारले समस्यारहित छिमेक सम्बन्ध र वैदेशिक नीति सञ्चालन गर्ने बताए । उनले आफूहरु कसैसँग शत्रुता नराखी मित्रता कायम गरेर अगाडी बढ्ने बताए । सरकारको वैदेशिक सम्बन्धलाई सुदृढ बनाउने नीति रहेको ओलीको भनाई छ । 
 

Advertisement

Advertisement