श्रममन्त्रीको प्रष्टीकरण– गरिखाने मान्छे हुँ, तर म्यानपावर व्यवसायी होइन्

Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका डोलप्रसाद अर्यालले आफू म्यानपावर व्यवसायी नभएको प्रष्टिकरण दिएका छन् । 

उनले सामाजिक सञ्जलमा बुधबार लेख्दै आफू कुनै पनि म्यानपावर कम्पनीमा संलग्न नरहेको बताएका हुन् । आफूमाथि लागेका आरोपको लामो खण्डन लेख्दै अर्यालले आफू अरु थुप्रै व्यवसायमा आवद्ध रहे पनि म्यानपावरमा प्रत्यक्ष संलग्न नरहेको बताएका हुन् ।

Advertisement

उनले भनेका छन्, ‘म यो देशको सामान्य नागरिक। अवसर खोज्दै संघर्ष गर्दै १५ वटाभन्दा बढि पेशा र व्यवसायमा लड्दै, उठ्दै, आवद्द, संलग्न, सक्रिय, निष्क्रिय हुँदै यहाँ आइपुगेको आम मान्छे हुँ। तर म्यानपावर कम्पनीमा म कहिले पनि छैन् ।’

देशका हरेक क्षेत्रका उद्योग व्यवसायमा थोरै थोरै संलग्नता रहेकाले आफ्नो स्वार्थ नबाझिने कुनै क्षेत्र नरहेको बताउँदै मन्त्री अर्यालले आफू कृषि, ट्राभल, सहकारी, ईंट्टा, रेमिट्यान्स कम्पनी, एजुकेसन कन्सल्टेन्सी, सेक्युरिटी सर्भिस, होटल, क्याटरिङ लगायतका क्षेत्रमा सक्रिय रहेको बताएका छन् । 

उनी भन्छन्, ‘गरिखाने मान्छे हुँ । थोरै थोरै धेरैमा छु । तर म्यानपावर कम्पनीमा म कहिले पनि छैन् । हो साथीहरुले एउटा कम्पनीमा सल्लाहकार राख्यौं है भनेर इन्टरनेसनल मार्केटिङ डाइरेक्टटरको पद लेखिदिए । तर, हटाइदिन भुले । तर, त्यो कम्पनीमा न मेरो लगानी छ न संलग्नता । न शेयर, न स्यालरी ।’ 

गलत काम गरेर आजसम्म एक रुपियाँ पनि आर्जन नगरेको अर्यालको प्रष्टीकरण छ । उनी थप्छन्, ‘मन्त्रीका रुपमा काम गर्न जाँदा आफूले जानेकै क्षेत्रमा जाने हो । श्रम रोजगार मन्त्रालय मैले धेरथोर जानेको विषयको मन्त्रालयमध्ये एक हो । मबाट पीडित एकजना मात्र भए खडा गरिदिनु होला । मैले कुनै गैरकानूनी काम गरेको भए जानकारी गराउनुहोला ।’

मन्त्री अर्यालले आफ्नो कार्यकालमा ऐतिहासिक कामहरु हुने प्रतिवद्धता पनि गरेका छन् । उनी भन्छन्, ‘भनेका कुरा पुरा गरिनँ भने म कुर्सी खाली गरिदिउँला । यो मेरो वाचा र चुनौती भयो ।’

Advertisement

Advertisement