ठूला दलले थिलथिलो बनाएको राज्य संयन्त्रमा नजिता निकाल्न मलाई गाह्रो भइरहेको छः गृहमन्त्री

Advertisement

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राज्यका संयन्त्रहरु ट्रयाकभन्दा बाहिर रहेकाले आफूलाई नतिजामुखि काम गर्न कठिनाई भइरहेको बताएका छन् । 

ठूला दलहरुले थिलथिलो बनाएको राज्य संयन्त्रका कारण आफूलाई नतिजामुखि काम गर्न समस्या भएको उपप्रधानमन्त्री लामिछानेको आरोप थियो । मंगलवार प्रतिनिधिसभा बैठकमा लामिछानेले ती संयन्त्रहरुको सुधारको काममा केन्द्रित हुँदा फरार सांसद लक्ष्मी महतो, आन्दोलनरत अधिकारीकर्मीहरु र क्रसर उद्योगको विषयमा निर्णय लिन ढिलाई भएको बताए । 

Advertisement

अब केही दिनभित्रै नतिजा आउने गरी काम हुने उनले बताए । त्यसका लागि गृह मन्त्रालयले सम्वेदनशील भएर काम गरिरहेको लामिछानेको भनाई थियो । उनले राज्यका संयन्त्रहरुलाई हिजो चलायजस्तो गरेर चलाउन छोडिदिए गृह मन्त्रालय अन्तरगतको आधा समस्या आफै हल भएर जाने अवस्थामा रहेको पनि बताए । 

लामिछानेले भने, ‘राज्यका संयन्त्रहरुलाई थिलथिलो बनाएर छाडिएको छ । काम गर्नेहरुलाई कानुन पालना गराउनुभन्दा पनि आदेश पालना गराउने गरी यति निरिह बनाएर राखिएको छ । वर्षौ शासनसत्ता सम्हालेका दलहरुबाट जसले यसलाई थिलथिलो बनाइयो । जसबाट त्यसरी थिलथिलो बनाउन, कमजोर बनाउनका निमित्त कामहरु भए । त्यही कोणबाट धेरै प्रश्नहरु आउने रहेछन । यो मैले अनुभव गरेको छु । तर म त्यसको प्रतिउत्तर होइन, काममा माध्यमबाट, रिजल्टका माध्यामबाट, परिणामका माध्यामबाट ती जवाफहरु गरिमामय संसदमा आफैं उपस्थित हुन भन्ने चाहना राखेर काम गर्न चाहन्छु । यो पनि म जानकारी गराउन चाहन्छु ।’ 

उनले थपे, ‘नेपाली जनताले ठूलो आशा, विश्वास र भरोसा राखेर तपाईं हामीलाई निर्वाचित गराएर पठाएका छन । अहिले जुन ढंगले राज्यका संरचनाहरुलाई काममा राखिएको छ । तीनमा निकै सुधार चाहिएको छ । त्यसैले तीनको सुधारका लागि प्रणालीगत सुधारका लागि हामी निरन्तर लागिरहेका छौं । विशेष गरेर मैले सम्हालीरहेको गृह मन्त्रालय प्रणाली सुधारमा, मापदण्डहरु निर्माणमा निरन्तर लागि रहेको छ । र, यसले परिणाम देखाउन चाँडै नै सूरु गर्नेछ । म एउटा, दुईटा विषयलाई लिएर मात्रै टिप्पणी वा त्यसको जवाफ दिन गईरहेको छैन । समग्र विषयलाई लिएर म यही भन्न गईरहेको छु कि राज्यको संयन्त्रहरुलाई हिजो चलायजस्तो अव चलाउन छोडिदिनुहोस् । आधा काम हाम्रो सहज हुनेछ । म यो गरिमामय सदनबाट यही भन्न चाहन्छु । आज सिडियो आफ्नो चाहिएको छ । डिएसपी आफ्नो चाहिएको छ । एसपी आफ्नो चाहिएको छ । सबै आफ्नो चाहिएको छ । यसैगरी तपाईहरुलाई राज्यको आफ्नो निकायहरुमा मानिसहरु चाहिएको हो भने प्रणाली सुधारमा तपाईहरुको योगदान के ? यसअर्थमा तपाईंहरुले गृह प्रशासनले अब गर्न लागेको प्रणालीलाई विश्वास गर्नुपर्नेछ ।’ 

सबै हाम्रा मान्छेहरु हुन, राज्यका मान्छेहरु हुन, र, ती राज्यका मान्छेहरुबाट प्रणाली सुधारेर सिष्टममा काम गर्न दिने कुरामा सबै प्रतिवद्ध हुन सक्यौं भने पनि आधा काम सकिने र जनताले पनि महशुस गर्ने मन्त्री लामिछानेले बताए । उनले गृह मन्त्रालय अन्यन्त संवेदनशील भएर सबै विषयहरुमा काम गरिरहेको बताए । 

लामिछानेले भने, ‘नतिजा किन समय लाग्ने भएको छ ? भने राज्यका संयन्त्रहरुलाई चलाइएको छ । गिज्याइएको छ । त्यसलाई ट्रयाक भन्दा बाहिर राखिएको छ । तीनलाई ट्रयाकमा ल्याउन नसक्दा कयौं ठाउँहरु हल्लिएका छन । तर म विश्वास दिलाउन चाहन्छु सम्माननीय सभामुख महोदयमार्फत् कि त्यस्ता ठाउँहरुलाई ठिक गरेर हामी उठेका सम्पूर्ण विषयहरुलाई चाँडै नै सम्भवत केही दिन भित्रमानै निर्णयमा पुग्छौं । समाधानका पुग्छौं । र, ती सबै कुराहरुलाई सम्बोधन गर्नेछौं । गरिमामय यो सदनमा छोडखानी गर्ने, एक अर्कालाई होच्याउने, एकअर्कालाई तल पार्ने हिजोदेखि खाटा पनि बसीसकेका घाउहरुलाई कोट्याउने काम कम्तिमा पनि म र मेरो दलबाट हुने छैन । तर म नतिजा अवश्यक दिन्छु । म यहाँहरुलाई निर्धक्क हुन अनुरोध गर्न चाहन्छु । कहिलेकाँही आम नागरिकलाई जानकारी दिने शिलशिलामा केही खवरहरु भन्नुपर्ने अवस्था आउन सक्ला । त्यसलाई त्यसै रुपमा बुझिदिन आग्रह गर्दछु । ’

उपप्रधानमन्त्री लामिछानेले आफूले लिएको जिम्मेवारी पूरा हुने कुरामा ढुक्क हुन पनि सांसदहरुलाई आग्रह गरे । संसदमा एकले अर्कालाई होच्याउनेजस्ता गतिविधि आफू र आफ्नो दलले नगर्ने र अन्य दलहरुबाट नहोस् भन्ने आफूले अपेक्षा गरेको पनि उनले बताए । 

Advertisement

Advertisement