काठमाडौं । सभामुख देवराज घिमिरेले संसदमा हुने विदेशका अवाञ्छित क्रियाकलापहरुबारे उत्तर दिन अस्वीकार गरेका छन् । नानले गरेको अन्तरवार्तामा उनले उत्तर दिन अस्वीकार गरे हुन् ।
संसद विदेशी दातृ निकाय खेल्ने ठाउँ जस्तो अथवा उनीहरुको एजेण्डा चलाउने जस्तो भयो भन्ने आलोचना पनि छ । यी अवाञ्छित क्रियाकलापहरुबारे तपाईंको बुझाई के छ ? भन्दा घिमिरेले भने, ‘यहाँले जुन तहमा भन्नुभयो अहिले म त्यो तहमा बुझाई राखेर त्यसमाथि प्रतिक्रिया दिइहाल्नुपर्ने ठाउँमा पुगिसकेको छैन् ।’
नेकपा एमालेको तर्फबाट हालै सभामुख निर्वाचित भएका उनले प्रतिनिधि सभा हिजोको तुलनामा अलिक नयाँ पार्टी, नयाँ सोच, नयाँ विचारका नयाँ नेताहरुसहितको आएको बताए ।
घिमिरेले भने, ‘संख्याको हिसावले अलि ठूलो संख्यामा आएको छ । अनुभवको हिसावले पनि अलि नयाँनयाँ पार्टी, नयाँनयाँ नेताहरु आउँदा त्यो खालको अनुभव भन्दा बाहिरका अनुभवहरुसहित आउनुभएको छ । त्यो बाहेक एउटा प्रणालीबाट आउनुभएको छ । पार्टीबाट आउनुभएको छ र दलगत प्रणालीमा आउनुभएको दलको हिसावबाटै चल्नुहुन्छ । चल्नुपर्छ । त्यसमा हिजोको तुलनामा अलि फरक छ भन्नु स्वभाविक हो । तर आधारभुत रुपबाट त्यस्तो खास फरक छैन । त्यस्तो नयाँ मैले महशुस गरेको छैन् ।’
एउटा प्रणालीमा आइसकेपछि नयाँ दल र नेताहरु प्रणालीको आधारबाट चल्नुपर्ने उनको तर्क छ । संसद हिजो यस्तो चाहिं बेठिक थियो भनेर धेरै टिप्पणी गर्ने भन्दापनि ठिक ढंगले लैजान के गर्नुपर्छ ? भन्ने दिशाबाट सोच्नुपर्ने बताए ।
हाम्रो गरिमा के हो ? हाम्रो महत्व के हो ? हामी माननीय मान्न योग्य कसरी भएका छौँ ? मान्न योग्यहरुले गर्ने व्यवहारहरु के हुन्छन् ? तरिकाहरु के हुन्छन् ? प्रणालीहरु के हुन्छन् ? भन्ने कुरामा काहिं कतै कमजोरीहरु विगतमा भए ? भन्दै सभामुख घिमिरेले अहिले पनि त्यस्ता सोच वा व्यवहार देखिए भने त्यसप्रति गम्भीर बनाउनुपर्ने बताए ।