नेपालको अपराजित यात्रा, स्कटल्यान्ड ३ विकेटले पराजित, संदीपले तीन विकेट लिए

Advertisement

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबार भएको खेलमा नेपालले स्कटल्यान्डलाई ३ विकेटले पराजित गरेको छ ।

शुक्रबार कीर्तिपुरस्थित मैदानमा भएको खेलमा स्कटल्यान्डले दिएको २७५ रनको लक्ष्य नेपालले सात विकेट गुमाएर ४७ ओभरमा पूरा गर्दै अपराजित यात्रा कायम राखेको हो । 

Advertisement

अर्धशतक बनाएका दिपेन्द्रसिंह ऐरी र कुशल मल्लको साझेदारी जितको आधार बन्यो । कुशलले ६७ बलमा ८१ रनको योगदान गरे भने ऐरीले ११६ बलमा नटआउट ८५ रन बनाए । 

सोमपाल कामीले नटआउट २४ रन जोडे ओपनर कुशल भुर्तेल १६ रन बनाए । त्यस्तै, ज्ञानेन्द्र मल्ल ४ रन र आसिफ शेखले ९ रन बनाए । यस्तै नेपालका कप्तान रोहित पौडेलले ६ रन, सन्दीप जोराले ५ रन जोडे र  गुल्शन झाले २८ बल खेलेर १७ जोडे । बलिङमा स्कटल्यान्डका क्रिस सोल र मार्क वाटले ३–३ विकेट लिए। 

त्यसअघि पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ५० ओभरमा ९ विकेटको २७४ रन जोडेको थियो । स्कटल्यान्डका माइकल लेस्क, क्रिस्टोफर म्याकब्राइड र रिची बेरिङटनलाई कुशल मल्लले क्याच आउट गरे भने टोमस म्याकिङटोस, म्याथ्यु क्रस र ब्रेन्डन म्याकुलमलाई सन्दीप लामिछानेले आउट गरे। लामिछानेले १० ओभरमा २७ रन बनाएका थिए । 

नेपालले यसअघि नामिबियालाई पराजित गरेको थियो । सिरिजमा नेपालले शनिबार तेस्रो खेल नामिबियासँग र आउँदो मंगलबार अन्तिम खेल स्कटल्यान्डसँग खेल्नेछ । 
लिग २ मा नेपाल छैटौं स्थानमा छ । नेपालले लिग २ मा १० खेल खेल्न बाँकी रहँदा २६ खेलबाट २२ अंक जोडेको छ । 

लिग २ का शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन् । बाँकी चार टिमले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ । लिग २ बाट स्कटल्यान्ड र ओमान विश्वकप छनोटमा पुगिसकेका छन् भने अब एक स्थानका लागि नामिबिया, नेपाल र युएईबीच प्रतिस्पर्धा भइरहेको छ । 

Advertisement

Advertisement