लघुवित्त पीडितको पक्षमा दुर्गा प्रसाईंले सुरु गरेको आन्दोलनमा माओवादी पनि लाग्ने

Advertisement

काठमाडौं । लघुवित्त संस्थाहरुबाट पीडित भएकाहरुको पक्षमा अभियान्ता एवं व्यवसायी दुर्गा प्रसाईंले सुरु गरेको आन्दोलनमा सत्तारुढ माओवादी केन्द्र पनि पछि लागेको छ । 

लघुवित्त संस्थाबाट चर्को ब्याजदरमा कर्जा लिएर पीडित भएकाहरुको पक्षमा प्रसाईले सुरु गरेको आन्दोलनले विशाल रुप लिने संकेत देखिएपछि माओवादीले पनि त्यसबाट राजनीतिक फाइदा उठाउने प्रयास गरेको हो । 

Advertisement

लघुवित्त पीडितहरुको आन्दोलनमा माओवादी केन्द्र लुम्बिनी कमिटीले ऐक्यवद्धता जनाएको छ । उक्त कमिटिको बैठकले लघुवित्त पीडितहरुको आन्दोलनमा ऐक्यवद्धता जनाई समस्या समाधानको पहल गर्ने निर्णय गरेको हो ।

कमिटिका अध्यक्ष सुदर्शन बरालले हालैका दिनहरुमा लघुवित्त संस्थाहरुबाट हजारौं मानिस पीडित भई त्यस विरुद्धमा संघर्ष गर्दै आएकाले पीडितहरुप्रति ऐक्यवद्धता जाहेर गर्ने निर्णय गरेको बताएका छन् । यस समस्याको समाधानको लागि सरकारसँग पहल गर्ने निर्णय भएको पनि उनले बताएका छन् । 

बैठकले सरकारी निकाय तथा अन्य स्थानमा हुने भ्रष्टाचार, ढिलासुस्ती, विकृतिविरुद्ध पार्टीका विभिन्न संगठनहरुसँग सहकार्य गर्दै प्रतिवाद गर्ने, सहकारी संस्थाहरुबाट जनता पीडित भएको, संस्थामा अनियमितता भई जनताको निक्षेप जोखिममा रहेकाले सम्वन्धित निकायलाई नियमन र व्यवस्थापन गर्न माग गर्ने, उखु किसानहरुले प्राप्त गर्नुपर्ने रकम लामो समयदेखि प्राप्त गर्न नसकेको गुनासो आएकाले भुक्तानी गर्न चिनी मिलहरुसँग माग गर्ने लगायतका निर्णय पनि गरेको जनाइएको छ । 

Advertisement

Advertisement