मुलुक सत्ता केन्द्रीत अस्थिरतामा धकेलिएको निष्कर्ष निकाल्दै राप्रपा सरकारबाट बाहिरियो

Advertisement

काठमाडौं । राजनीतिक समीकरणमा आएको फेरबदलसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकार छोड्ने निर्णय गरेको छ । सो पार्टीको शनिबार बिहान बसेको कार्यसम्पादन समिति र संसदीय दलको बैठकले मुलुक सत्ता केन्द्रीत अस्थिरतामा धकेलिएको निष्कर्षसहित संघ र प्रदेश सबैबाट बाहिरिने निर्णय गरेको हो । 

बैठकले परिवर्तित सन्दर्भमा राप्रपा सत्तामा रहिरहन अनुपयुक्त हुने ठहर गर्दै सरकारबाट बाहिरिने निर्णय गरेको छ । पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘यसै पृष्ठभूमिमा माघ ३ गते हामी सरकारमा समेत सहभागी भई क्रियाशील रहेको बेला वर्तमान सत्ता सहकार्यमा आकस्मिक परिवर्तन भई मुलुक पुनः सत्ता केन्द्रित अस्थिरतातर्फ धकेलिएको छ । यो हाल देखिएको सत्ता परिवर्तनको प्रवृत्ति र प्रक्रिया वर्तमान संविधानको संरचनामा निहित अस्थिरताको स्वभाविक चरित्र हो भन्ने हाम्रो ठहर रहेको छ ।’

Advertisement

परिवर्तित सन्दर्भमा राप्रपा सत्तामा रहिरहनु अनुपयुक्त हुने ठहर गर्दै आजबाटै सरकारलाई दिएको समर्थन फिर्ता लिई सरकारबाट बाहिरिने निर्णय गरेको बताउँदै उनले विज्ञप्तिमा प्रदेश सरकारमा पनि राप्रपाको यसै बमोजिमको दृष्टिकोण रहेकाले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने र प्रदेश सरकारबाट समेत बाहिरिने निर्णय गरिएको बताएका छन् । 

शुक्रबार रातिको सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले समीकरण फेरेर बनेको नयाँ आठ दलीय गठवन्धनको बैठकले कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग गर्ने सहमति जनाएका थियो ।

Advertisement

Advertisement