सिंहदरबारको फोहोर उठाउने काम बालेनको नभई शहरी विकासको भएको नयाँ तर्क

उपनिर्वाचनपछि ज्ञानेन्द्र शाहमाथि खनिदै आएका केपी ओली आज बालेन शाहमाथि पनि खनिए

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र शाह)को आलोचना गरेका छन् । उपनिर्वाचनपछि गद्दीविहीन अवस्थामा रहेका राजा ज्ञानेन्द्र शाहको आलोचना गदै आएका उनले सोमबारको कार्यक्रममा बालेन शाहको आलोचना गरे । 

मे डे (अन्तर्राष्ट्रिय श्रमिक दिवस)को अवसरमा आफ्नो मजदुर संगठनले गरेको कार्यक्रममा ओलीले राजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै दुलोबाट मुसाले बिरालो हेरेजसरी अनुकूल परिस्थितिको खोजी गरिरहँदा पनि सरकारले भने निरीहता मात्रै प्रकट गरिरहेको बताए । यही गएको वैशाख १० को उपनिर्वाचनमा आफ्नो पार्टीको लज्जास्पद पराजय र झापामा मेची नामाकरण विरोधीहरुले ढुंगामुढा गरेपछि ओलीले राजा ज्ञानेन्द्रविरुद्ध कटु आलोचना गर्दै आएका छन् । 

Advertisement

सिंहदरबारको फोहोर काठमाडौं महानगरपालिकाले उठाउँदिन भन्दा सरकारले त्यसको जवाफ दिन नसकेको उनको तर्क छ । ओलीले सिंहदरबारको फोहोर काठमाडौं महानगरपालिकाले उठाउने नगई शहरी विकास मन्त्रालयले उठाउने हो भन्ने तथ्य जनतालाई भन्न पनि सरकारले नसकेको बताए । 

शहरी विकास मन्त्रालयले सिंहदरवारको फोहोर उठाउने काम ठेक्कामा दिएको तर ठेकदारले काम नगरेको उल्लेख गर्दै उनले सरकार र ठेकदारबीचको सम्बन्धबारे खोजी गर्नुपर्ने बताए । 

ओलीले भने, ‘हामी नेपाली जनता यतिबेला गम्भीर हुनुपर्ने अवस्थामा आएका छौं । अहिले  चौंतर्फी ढंगले अनेक प्रकारका तत्वहरु, अनेक प्रकारले लोकतन्त्रका विरुद्ध, जनताले पाएका अधिकारहरुको विरुद्ध सक्रिय भएर सल्बलाउन थालेका छन् । कोही कोही दुलाबाट फुत्त निस्केलान कि ? जस्तो गरेर दुलोबाट मुसोले बिरालो हेरेजसरी अनुकूल स्थिति आयो कि आएन ? भनेर यसो हेर्न थालेका छन । नेपाली जनता सजग हुनु पर्दछ । र, अहिलेको सरकार सरकारमा किन बसिरहेको छ ? जनताले हटाउन सकिराखेका छैनन् । त्यो आफ्नो ठाउँमा छ । तर सरकारनै किन बसिराखेको छ ? अचम्म लाग्दो छ । केही पनि गर्न नसक्ने सरकार ।’ 

उनले थपे, ‘सिंहदरबारको फोहोर उठेन भन्यो । एउटाले फोहोर उठाउदिन भन्यो । उसले उठाउने नै होइन । सिंहदरबारको फोहोर काठमाडौं महानगरपालिकाले उठाउने नै होइन । शहरी विकास मन्त्रालयले फोहोर उठाउने ठेक्का अर्कैलाई लगाएको छ । अनि महानगरले उठाउन्न भन्यो । त्यसले उठाउने नै होइन सरकार भन्न सक्दैन । सरकारले लगाएको ठेकदारले उठाउन थपक्क छोड्यो । किन उठाउन छोड्यो ? ठेकदारले के सिंहदरबारमा फोहोर थुपारेर रोग फैल्याउन पाईन्छ ? कुनै प्रकारको षडयन्त्र गर्न पाईन्छ ? यहाँ फोहोरमाथि राजनीति गर्ने प्रपञ्च भइराख्या छ । जनतालाई पीरमर्का पार्ने काम भईराखेको छ । सरकार निरिह छ । केही गर्दैन । सहरी विकास मन्त्रालयलेनै ठेक्का लगाएर त्यहाँको फोहोर उठाउने काम भईरहेका छन । त्यहाँ ठेक्का लिने ठेकदारले अन्यत्र पनि फोहोर उठाउने काम गरिराखेको छ । जनतालाई थाहा छैन् । अनेक प्रकारका खेलहरु, सबै कुरा अस्वस्थ, गलत क्रियाकलाप अन्तरगत गलत उद्देश्यका साथ भईराख्या छ । जसले उठाउने नै होइन, उसले किन भन्छ– म त्यहाँको फोहोर उठाउदिन भनेर । जसले उठाईराखेकै छैन् । कसरी भन्छ ? सरकार किन भन्दैन– उसले उठाउने गरेकै छैन भनेर । उसले उठाउन्न भन्ने बित्तिकै ठेकदारले किन उठाउँदैन ? यस्तो कुरामा सरकारले जनतालाई गुमराहमा पारिरहेको छ । त्यसको पछाडिको कारण त्यो ठेकदारसँगको सरकारी सम्बन्ध के हो ? यसको खोजी गर्नुपर्ने अवस्था बन्दैछ । के हो सम्बन्ध ? देश यस्तो गम्भिर अवस्थामा छ । तर, सरकार यो गम्भिरतालाई बुझिराखेको छैन । यस गम्भिरतामा चलिराखेको छैन । यो बहुतै चिन्ताको विषय आज बनिराखेको छ ।’

ओलीले श्रमिकहरुबीच फाटो ल्याउने प्रयास फेरि पनि भईरहेको उल्लेख गर्दै त्यसलाई निस्तेज पारेर अघि बढन सबै मजदुरहरुलाई एकतावद्ध हुन आह्वान गरे । मजदुरको हक, हित र उनीहरुको जायज माग सम्बोधन गर्न उनीहरुको बीचको एकता सबैभन्दा ठूलो  बल भएको उनले स्मरण गरे । 

Advertisement

Advertisement