सरकारमा जान हतारिए लामिछाने, आज विवाद भएपछि वैशाख २२ लाई अर्को बैठक बोलाइयो

Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा जाने वा नजाने भन्नेबारे निर्णय लिन आगामी शुक्रबार केन्द्रिय समिति र पार्टी संसदीय दलको संयुक्त बैठक बोलाएको छ । 

सोमबार बसेको सो पार्टीको केन्द्रिय समितिको बैठकमा सरकारमा जाने÷नजाने भन्नेबारे फरक फरक दृष्टिकोण आएकाले निर्णय लिन बैशाख २२ गतेलाई अर्को बैठक तोकिएको हो । 

Advertisement

बैठकले पार्टी सरकारमा बस्ने वा प्रतिपक्षमा बस्ने निर्णय पनि गर्ने स्वतन्त्र पार्टीका प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए । केन्द्रिय सदस्यहरुले सरकारमा रहँदा वा प्रतिपक्षमा पार्टी रहँदाका फाईदा बेफाईदाबारे समीक्षात्मक धारणा राखेको उनले बताए । 

ढकालले भने, ‘आज एउटा के निर्णय गरेका छौं भने पार्टी कि त सरकार बस्छ, कि त प्रतिपक्षमा बस्छ । अब यसरी यो बीचमा बस्ने काम गर्दैन भन्ने हामीले निर्णय गरेका छौं । र, पार्टी सरकारमा जाने या प्रतिपक्षमा बस्ने यो कुराको निर्णय गर्नका लागि पार्टीले आगामी शुक्रबार बैशाख २२ गते केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठक बोलाउने र, सो संयुक्त बैठकबाट निर्णय गर्नेगरी आजको निर्णय भएको छ ।’ 

स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसहित केही नेता सरकारमा जान हतारमा देखिए पनि बहुसंख्यक भने सरकारमा जान नहुने पक्षमा छन् । यदि सरकारमा जाने हो भने पहिलाकै मन्त्रालय पाउनुपर्ने, सरकारको न्यूनतम साझा कार्यक्रम पुनर्लेखन गर्नुपर्ने र सरकार पूरा अवधिनै टिक्नुपर्ने शर्त पनि राखिएको छ । 

Advertisement

Advertisement