नक्कली भुटानी शरणार्थी प्रकरण पेचिलो बनिरहेको बेला ओलीले दाहाललाई फेरि भेटे

Advertisement

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरण पेचिलो बन्दै गएको बेला नेकपा एमालेका अध्यक्ष केपी ओलीले पुनः शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका छन् । 

ओली प्रधानमन्त्री दाहाललाई भेट्न दिउँसो १२ बजे सिंहदरबार पुगेका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले सचिव तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी हुनुका साथै उपाध्यक्ष रामबहादुर थापा र उनका छोरासमेत पक्राउ पर्ने अवस्था आएपछि ओलीले दोस्रोपल्ट प्रधानमन्त्री दाहाललाई भेटेका हुन् ।

Advertisement

दुवै जनाबीच झण्डै एक घण्टा कुराकानी भएको थियो । दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले दाहाल र ओलीबीच समसामयिक विषयमा कुराकानी भएको बताएका छन् । 

रायमाझीलाई पक्राउ पुर्जी जारी भएपछि यसअघि वैशाख २१ गते पनि दाहाललाई भेट्न ओली पुगेका थिए । यति ठूलो संगठित अपराधमा संलग्नलाई बचाउन ओली लागिपरेको भन्दै अहिले उनको आलोचना भइरहेको छ । कतिपयले भने माओवादी केन्द्र छोडेर नेकपा एमालेका गएकाले दाहालले बदलाभावले पूर्वाग्रहीरुपमा रायमाझी र थापालाई मात्रै निशाना बनाउन लागेको र अरुलाई भने जोगाउन खोजेको आरोप पनि लागेको छ । 

नक्कली शरणार्थी प्रकरणमा नाम मुछिएर पक्राउ पुर्जी जारी भएपछि रायमाझी प्रहरीको फरार सूचीमा परेका छन् । 

Advertisement

Advertisement