हामीसँग वार्षिक रु. १० खर्बको निर्यातको संभावना छ, तर ब्राण्डिङ नहुँदा निर्यात भएन्ः मल्ल

Advertisement

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपाली वस्तुहरुको ब्राण्डिङ गरेर निर्यात प्रवर्द्धन गर्नुपर्ने बताएका छन् । नवलपरासी चेम्बर अफ कमर्सको साधारणसभामा शनिबार उनले उच्च व्यापार घाटा न्यूनीकरणका लागि निर्यातयोग्य बस्तुहरुको पहिचान र अन्तर्राष्ट्रिय ब्राण्डिङको आवश्यकता रहेको बताए । 

मल्लले मुलुकमा निर्यातयोग्य वस्तुहरुको अपार सम्भावना भएर पनि पहिचान गर्न नसकिएको बताए । मुलुकमा वार्षिक १० खर्व रुपियाँको हाराहारीमा निर्यात सम्भावना रहेको बताए । मल्लले भने, ‘मुलुकमा प्रत्येक वर्ष बजेटकै हाराहारीमा व्यापार घाटा छ । स्वदेशमा भएका निर्यातयोग्य वस्तुहरुको पहिचान हुन सकेको छैन् । निर्यात भइरहेका बस्तुहरुको पनि ब्राण्डिङ हुन सकेको छैन् । चिया कफी जस्ता बस्तुहरुको आफ्नै लोगो हुन नसक्दा निर्यातमा अपेक्षित लाभ लिन सकिएको छैन् ।’

Advertisement

नेपाली बस्तुहरुको निर्यात सहजीकरणका लागि मुख्य मुख्य भन्सार नाकाहरुमा अन्तर्राष्ट्रियस्तरको क्वारेन्टिन ल्याव स्थापना गर्नुपर्ने उनको सुझाव छ । मल्लले करको दर भन्दा पनि दायरा बढाउनतर्फ सरकारको ध्यान जानुपर्ने बताए । उनले राजश्व ६० प्रतिशत हाराहारीमा मात्रै संकलन भएको भन्दै चालु आर्थिक वर्षमा सरकारी स्रोत नै संकुचित हुन पुगेको बताए । 

केही वस्तुहरुको आयात प्रतिवन्ध लाग्दा राजश्वमा गम्भीर असर परेकाले करको दायरालाई फराकिलो बनाउनुपर्ने मल्लको भनाई छ । उनले मुलुकको आर्थिक नीतिमा सबै दलहरु एकै ठाउँमा उभिनुपर्ने बताए । 

बजेटलाई बितरणमुखी भन्दा पनि उत्पादनमुखी बनाउनुपर्नेमा दलहरुले त्यो गर्न नसकेको भन्दै मल्लले युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने गरी राज्यको नीति बन्नुपर्ने बताए । 

Advertisement

Advertisement