‘सत्तापक्षले पीडितलाई नागरिकता दिन होइन्, भोट बैंकको मात्रै नागरिकता विधेयक ल्याएको हो’

Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले नागरिकताको विषयमा सत्तापक्ष आफैंले राजनीतिकरण गरिरहेको बताएका छन् । 

सोमबार संसदमा उनले नागरिकताको समस्या समाधान गर्ने भए तत्काल नागरिकता विधेयक संसदमा ल्याउन पनि सरकारलाई आग्रह गरे । त्यसको कन्टेन्टमा छलफल गरेर फाष्ट ट्रयाकबाट विधेयक पारित गर्न आफूहरुको कुनै आपत्ति नरहेको लिङदेनको भनाई छ । 

Advertisement

उनले सत्तापक्षले नेपाली नागरिकलाई नागरिकता नदिने काम प्रतिपक्ष दलहरुबाट भएझैं गरेर गलत प्रचार गरिरहेको भन्दै भारतलाई खुशी बनाउन र नागरिकता नपाएका नागरिकहरुलाई पनि खुशी बनाउने सरकारले नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण गराए पनि पीडितलाई नागरिकता दिने नियत नभएको नदेखिएको पटकपटक दोहोर्याए । 

लिङदेनले भने, ‘सभामुख महोदय, म सो जुवारी, सवालजवाफ अथवा अरुको कुरा काट्ने कुरामा त्यति चासो राख्दिन । तर कहिले कहिले यस्तो चिजहरु आईलाग्छन । आज पनि मैलेअघि लामो समयदेखि यहाँ सुनिराखेको छु । एउटा भाष्य निर्माण भईराखेको छ कि यो नागरिकता विधेयकको प्रक्रियामा प्रतिपक्षहरुले जुन विरोध गर्यौं र, हामीले त्यसमा आफ्नो फरक मत राखिराखेका छौ, त्यसलाई अहिले सत्तापक्षले नागरिकता नपाएका नेपाली नागरिकहरु, जो नागरिकताविहीन नेपालीहरु छन्, उनीहरुलाई भोट बैंकको रुपमा परिणत गर्ने अवसरको रुपमा उपयोग गर्न खोजेको देखियो ।’ 

उनले थपे, ‘हामीले कुनै पनि नेपाली नागरिक जसका बाबुआमा नेपाली नागरिक छन् । तर अहिले उमेर पुगेर पनि नेपाली नागरिकताबाट बञ्चित छन् । उनीहरुले नागरिकता पाउनु हुँदैन भनेर भनेका छैनौ हामीले । हामीले यो नागरिकता विधेयक आउनु हुँदैन भनेर भनेका छैनौं । हामीले प्रक्रियाका कुरा गरेका छौ । र, त्यसमाथि अझ कन्टेन्टमा पनि केही छलफल गर्नुपर्ने कुराहरु छन् । र, छलफल गरेर लैजाऊ भनेर भनेका छौं । सत्तापक्ष, यदि नागरिकता विधेयकबारे इमान्दार थियो भने त्यो जे प्रक्रिया चलिराखेको थियो र, जहाँ गएर अडकिराखेको थियो, त्यसमा विवाद छ । विवाद हुन्छ भन्ने कुरा सत्तापक्षलाई थाहा थियो । र, इमान्दार थियो भने उसले सर्वदलीय बैठक राख्न सक्थ्यो कि सक्दैन थियो ? यसको बारेमा के गर्ने ? यसलाई कसरी अगाडि बढाउन ?, चाँडै टुंगो लगाउनुपर्नेछ भन्ने ढंगले यसबाट निकास निकाल्न सकिन्थ्यो कि सकिदैन थियो ? सुटुक्कै, त्यो पनि भारत भ्रमणमा निस्कनु १–२ घण्टा अगाडि गर्नुपर्ने के कारण छ ? अहिले रोकिएको एमालेको कारण, राप्रपाको कारण, रास्वपाको कारण रोकिएको हो ? त्यो अदालतमा हामीले गएर उजुरी हालेको हो ? तपाईंहरुलाई थाहा थियो– हामीले अहिले गर्नलाई गरिदिऊ । भारत पनि खुशी हुन्छ । यो नागरिकता नपाएका मानिसहरु पनि खुशी हुन्छन । आखिरी अदालत रोकिहाल्छ । कसै न कसैले उजुरी गरिहाल्छ । जानाजान गरेको विषय हो ।’ 

अहिले पनि सरकार समस्याको समाधान चाहन्छ भने त्यो विधेयक संसदमा ल्याओस् भन्दै लिङ्देन सबै राजनीतिक दलहरुलाई आग्रह गर्न चाहन्छु भन्दै लिङदेनले फाष्ट ट्रयाकबाट टुंगोमा पुर्याउन आफूहरु तयार रहेको बताए । उनले थपे, ‘कुनै आपत्तिको विषय होइन् । यो नागरिकताको समस्या हामी सबैको समस्या हो । र, यसलाई छलफलबाट टुंगो लगाउनुपर्छ भन्ने कुरामा कुनै आपत्ति छैन् । र, आपत्ति नरहेको कुरा म फेरि पनि दोहोर्याउन चाहान्छु । र, यसलाई राजनीतिकरण नगरियोस भनेर भन्न चाहान्छु ।’

अध्यक्ष लिङदेनले नागरिकताको विषयमा राजनीतिकरण नगर्न सत्तारुढ दलहरुलाई आग्रह गर्दै त्यो समस्या समाधान हुने गरी विधेयक संसदमा ल्याउन सरकारको गम्भीर ध्यानाकर्षण गराए । 

Advertisement

Advertisement