समाजवादी मोर्चा युद्धको घोषणा होः प्रधानमन्त्री दाहाल

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले समाजवादी मोर्चा राजनीतिक परिवर्तनका बिरुद्ध लाग्नेहरुका निम्ति युद्धको घोषणा भएको तर्क गरेका छन् । 

युद्ध अपराधसम्वन्धी र भ्रष्टाचारसम्वन्धी ठूलठूला मुद्दा खेप्दै आएका दाहाललगायतका नेताहरुले त्यसबाट जोगिन मोर्चा बनाएको आरोप लागिरहेको बेला उनले सोमवार समाजवादी मोर्चा घोषणा कार्यक्रममा राजनीतिक परिवर्तनविरुद्ध लाग्नेका लागि युद्धको घोषणा भएको तर्क गरेका हुन् । 

Advertisement

माओवादी केन्द्रका अध्यक्ष तथा तत्कालिन सशस्त्र विद्रोहका कमाण्डरसमेत रहेका दाहालले मोर्चा घोषणा राजनीतिक परिवर्तनका बिरुद्ध लाग्नेहरुका लागि युद्धको घोषणा भएको बताए । परिवर्तनलाई होच्याउने, अपमानित गर्ने अराजक र प्रतिगामी प्रवृत्तिका मान्छेहरुले टाउको उठाउन खोजेका भन्दै उनले समाजवादी मोर्चा तिनीहरु बिरुद्धको युद्ध भएको जिकिर गरेका हुन् । 

मोर्चा जनताको पक्षमा, प्रगतिशिल र वामपन्थीहरुको पक्षमा भएको भन्दै दाहालले १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान बनाउन भूमिका खेल्ने सबैलाई हातेमालो गर्न आग्रह समेत गरे । उनले भने, ‘हामी परिवर्तनका पक्षधर विभिन्न संघर्ष र बलिदानबाट गुज्रिएका पार्टी र नेताहरुलाई, विचार र प्रवृत्तिलाई बदनाम गर्ने र यो परिवर्तन जो हजारौँ शहिदहरु र बेपत्ताहरु, क्रान्तिकारीहरुको त्याग, तपस्या र बलिदानबाट आएको परिवर्तनलाई होच्याउने, अपमानित गर्ने, ह्युमुलेट गर्न खोज्ने अराजक र प्रतिगामी प्रवृत्तिका केही मान्छेहरुले टाउको उठाउन खोजेकै छन् । के कुरा साँचो हो भने यो मोर्चा तिनका बिरुद्ध युद्धको घोषणा भने पक्कै पनि हो ।’ 

दाहालले थपे, ‘यो मोर्चा सबैसँग बराबरीवाला मोर्चा होइन । ७०÷७५ वर्ष संघर्ष गरेर जेल, नेल, यातना, त्याग र बलिदानका किर्तिमान कायम गरेर स्थापित भएको जनताको अधिकार खोसेर फेरी त्यसलाई प्रतिगमनको, हिजोकै सामन्ती निरंकुशतातिर फर्काउन चाहानेहरुका बिरुद्ध एउटा नयाँ अभियान र युद्ध पक्कै पनि हो । तिनीहरुलाई चुनौति पक्कैपनि हो । हामीलाई सह्य छैन, जनताको त्यति लामो संघर्ष र बलिदानबाट प्राप्त भएको उपलब्धि उल्ट्याउन खोज्ने र त्यसलाई निस्तेज पार्न खोज्ने प्रतिक्रान्तिकारीहरुका बिरुद्ध, प्रतिगमनकारीहरुका बिरुद्ध देशलाई फेरि अध्याँरोतिर । २५० सामन्ती राजतन्त्रले देशलाई कहाँ पु¥यायो । हामी त्यही फोहोरको डंगुर सोहोर्नुपर्ने बाध्यतामा अहिलेपनि छौँ । तिनका विरुद्ध पक्कैपनि समाजवादी मोर्चा हो ।’ 

प्रधानमन्त्री दाहालले नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व गरेका नेत्रविक्रम चन्द मोर्चामा सामेल हुनु गुणात्मक र क्रान्तिकारी महत्व भएको बताए । उनले विप्लव समाजवादी मोर्चामा सामेल हुँदा संसदीय राजनीतिमा सामेल भएका आफूहरुमा लागेको धुलोमैलो सफा गर्न मद्दत पुग्ने बताए । 

दाहालले भने, ‘एउटा राम्रो पक्ष के भएको छ भने कमरेड विप्लवले नेतृत्व गरेको नेकपा पनि यो मोर्चामा सामेल भएको छ र यसको गुणात्मक र क्रान्तिकारी महत्व छ । हामी संसदीय राजनीतिमा अलि बढी लागेकामा केही धुलोमैलो जम्मा भएको छ । सायद कमरेड विप्लवजस्ता पार्टीहरु यहाँ मोर्चामा आउँदा हाम्रो धुलोमैलो सफा गर्न पनि मद्दत हुन्छ भन्ने मलाइ लाग्छ । त्यस अर्थमा आजको यो मोर्चा गठन र घोषणाको दुरगामी महत्व छ भन्ने म ठान्छु । यो क्षणिक र आवेगमा गरिएको छैन । धेरै ठुलो संघर्ष, त्याग, दुःख, कष्ट, गल्ती कमजोरी ति सबैबाट पाठ सिक्दै फेरी इतिहासमा अग्रगमनको पक्षमा, प्रतिगमनका बिरुद्ध एउटा नयाँ आन्दोलन शुरु गर्ने संकल्पको साथ, प्रतिवद्धताको साथ यो गठन भएको छ ।’

उनले नेता, कार्यकर्ताहरुको उत्साहले समाजवादी मोर्चाको औचित्य स्थापित भइसकेको बताए । दाहालले समाजवादी मोर्चालाई अभियानको रुपमा लैजाने बताए । उनले आफूहरु सडकमा समेत जाने बताए । 

Advertisement

Advertisement