पाँचखाल नगरपालिकाले लगानी सम्मेलन गर्ने

Advertisement

काभ्रे । पाँचखाल नगरपालिकाले यस वर्ष लगानी सम्मेलनको आयोजना गर्ने भएको छ । कोरोना सङ्क्रमणलगायत विविध कारण सम्मेलन लगातार चार वर्ष अनिश्चित भएको थियो । नगरले आर्थिक वर्ष २०८०–८१ मा लगानी लम्मेलन गर्ने आफ्नो बजेट, नीति तथा कार्यक्रममा समावेश गरेको छ ।     
     
सम्मेलनको अयोजना घोषणा गरेको नगरले कोरोना सङ्क्रमणको तेस्रो लहरसम्म गर्न सकेको थिएन । नगरप्रमुख महेश खरेलले भने, ‘चालु आवमा पनि गर्न भ्याइएन, अबको वर्ष जसरी पनि गर्ने बजेटसहितको योजना बनाउनेछौं ।’ लगानी सम्मेलनको चाहना त्यतिकै जाने हो की भन्ने डरमा थिए, पुनः नगरप्रमुख भएपछि त्यो चाहनालाई पूरा गर्नेतिर लागिरहेको उनले बताए ।     
     
आव २०७६–७७ मा कार्यपालिका बैठकले निर्णय गर्दै बजेट विनियोजन गरी तयारीमा जुटेपछि कोरोना भाइरसको सङ्क्रमण उच्च जोखिम बढ्दै गएपछि त्यसयता लगानी सम्मेलनको योजना योजनामै सीमित भएको थियो । कोरोनाको तेस्रो लहरसम्मका कारण त्यसको असर नगरको अर्थतन्त्रमा परेका कारण गत वर्ष पनि गर्न नसकिएको खरेलले दुःखेसो पोखे ।     
     
खरेलका अनुसार सम्मेलनमा लगानीकर्ताबाट रु १५ अर्बको लक्ष्य लिइएको थियो । उनले भने, ‘यस वर्ष सम्मेलन गर्न सकिने वातावरण बन्दै गएको छ, यो वर्ष गर्ने नै योजना बनाएका हौँ, यसका लागि लगानीकर्ता निम्त्याउनेबारे अध्ययन थाल्नेछौँ ।’ 

यसअघि स्थानीय तहअन्तर्गत पहिलोपल्ट विसं २०७६ असोजमा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गरेको लगानी सम्मेलनमा स्वेदेशीसहित विदेशी लगानीकर्ताबाट रु १५ अर्बभन्दा बढीको लगानी प्रतिबद्धता जनाएका थिए ।     
     
पाँचखाल क्षेत्रको समग्र विकासका लागि चालु आवमा लगानीकर्ता तथा रोजगारदाताको सम्मेलन गर्न अघिल्ला दुवै आवमा प्रारम्भिक बजेट छुट्याइएको खरेलले जानकारी दिए । उनले भने, ‘पाँचखालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विकासका काम सुरुभएसँगै लागानी सम्मेलन फलदायी हुने अपेक्षा गरेका छौँ ।’ सम्मेलनमा विशेष गरी कृषि र पशुपालनमा लगानकर्तालाई आकर्षण बनाउने योजनामा बनाइएको छ ।     
     
कृषि तथा पशुपालन क्षेत्रमा आधुनिकीकरण, सौर्य ऊर्जा, प्रविधि र पर्यटकीयस्तरका ठूला होटल, उद्योग स्थापनार्थ सम्मेलनमा प्रस्तावसमेत गरिने योजना बनाइएको छ । खरेलले भने, ‘सम्मेलनमा स्थानीयलाई रोजगार दिने उद्योग तथा परियोजनालाई कर छुट दिने योजना ल्याइसकेका छौँ ।’
 

Advertisement

Advertisement

Advertisement