नामै नसुनेकाहरुले समेत दशौं हजार भोट पाउने परिस्थितिलाई कांग्रेसले रोक्नुपर्छः चौधरी

Advertisement

काठमाडौं । उद्योगपति, साँसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले नामै नसुनेका व्यक्तिहरुले समेत दशौं हजार भोट ल्याउने परिस्थिति बन्न थालेको बताउँदै यसलाई कांग्रेसले रोक्नुपर्ने बताएका छन् । 

कांग्रेसको केन्द्रीय समिति बैठकका क्रममा आइतबार उनले गएको संसदीय निर्वाचनमा यस किसिमको समस्या आफूले आफ्नो निर्वाचन क्षेत्रमा समेत भोगेको सुनाउँदै यसप्रति कांग्रेस गम्भीर हुनुपर्ने बताए । 

Advertisement

राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीतर्फ संकेत गर्दै चौधरीले भने, ‘बाहिर देखिएका पार्टीहरुले जुन ढंगले नारा लगाइरहेका छन्, जुन रुपले आफूलाई परिचालित गरिरहेका छन्, टेक्नोलोजीको माध्यमबाट जसरी सदस्यता वितरण गरिरहेका छन्, सदस्यता मात्रै होइन्, आर्थिक मोविलाइजेशन पनि जुन ढंगले भइरहेको छ, त्यसलाई हामीले चिर्नका लागि र यत्रो हाम्रो इतिहास बोकेको पार्टीले ती सबै आकांक्षाहरुलाई सम्बोधन गर्नका लागि संगठित भएर एउटै वातावरण बनाउन सकेनौं ।’ 

यस्ता समस्यालाई प्राथमिकतामा राखेनौं भने भोलिका दिन अत्यन्तै कठिन हुने भन्दै उनले विदेशमा बसेका ५० लाखभन्दा बढीबाट परम्परागत पार्टीहरुलाई भोट दिने होइन्, नयाँलाई दिनुपर्छ भनेर नारा लाग्ने क्रम बढेर गएको, यसलाई चिर्न कांग्रेसले आफूलाई रुपान्तरित गर्नुपर्ने बताए । 

जनताले लगानी, रोजगारी, आर्थिक विकास चाहेको चौधरीले बताए । त्यो कुरा सम्बोधन गर्न कांग्रेस सक्षम छ भन्ने सन्देश दिनु जरुरी रहेको उनले बताए । चौधरीले नेपालको अर्थतन्त्र पहिलो पटक खुम्चिएको बताउँदै यसमा आफूले अहिलेको अर्थमन्त्रीलाई दोष नदिने बताए । अहिले अर्थमन्त्रीले पूर्वअर्थमन्त्रीले जारी गरेको बजेटलाई निरन्तरता मात्रै दिएकाले दोष दिन नमिल्ने चौधरीको तर्क छ । 

उनले आगामी दिन अर्थ चुनौतिपूर्ण रहेको बताए । चौधरीले पाँच लाख युवा रोजगार बजारमा प्रवेश गर्दा ५० हजारलाई पनि रोजगारी दिन सक्दैनौं भन्दै नयाँ रोजगारी सिर्जना गर्ने सोच र आत्मविश्वासको सञ्चार गर्न कांग्रेसले सक्नुपर्ने बताए । 

Advertisement

Advertisement