सुन काण्डमा अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग्दा पक्राउ परेका सांसद शर्माबारे बोल्यो कांग्रेस

Advertisement

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले पार्टीका सांसद सुनिल शर्मालाई पक्राउ गरेकोमा आपत्ति जनाएको छ । सुन तस्करी प्रकरणमा अर्थमन्त्री र गृहमन्त्रीमाथि पनि छानविन हुनुपर्ने र उनीहरुले तत्काल राजीनामा दिनुपर्ने भन्दै आवाज उठाउँदै आएका शर्मालाई सरकारले बिहीबार पक्राउ गरेको थियो । 

शुक्रवार नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बसेको सत्तारुढ कांग्रेस संसदीय दलको बैठकले शर्माको पक्षमा बोलेको हो ।  बैठकमा सांसदहरुले सो घटनालाई आपत्तिजनक, अप्रत्याशित र गम्भीरतापूर्वक लिएको पार्टी संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । 

Advertisement

काँग्रेसले शर्माको पक्राउबारे पार्टीको आधिकारिक धारणा तय गर्न साउन २८ गते आईतवार साँढे १२ बजे पुनः संसदीय दलको बैठक बोलाएको छ । आज सांसदहरुले सो घटनाबारे आ–आफनो धारणा राखेका थिए । आईतवार पुनः बस्ने बैठकले त्यस सम्बन्धमा आधिकारिक निर्णय लिने लेखकले बताए । 

त्यसैगरी बैठकले बाढी, पहिरो र डुबान पीडित तथा लम्पी स्किन महामारीको मारमा परेका किसानहरुलाई उचित क्षतिपूर्ति र राहतको आवश्यक व्यवस्था मिलाउन पनि सरकारसँग माग गरेको छ । काँग्रेस संसदीय दलले डेंगु महामारी नियन्त्रण र आँखामा इन्फेक्सन हुने रोग नियन्त्रणका लागि प्रभावकारी भूमिका निर्वाह गर्न पनि सरकारलाई सचेत गराएको छ । 

प्रमुख सचेतक लेखकका अनुसार बैठकले खानेपानीको अभाव र कम वर्षाका कारण धानबाली लगाउन नसकेका तराईंका किसानहरुको समस्या पनि तत्काल समाधान गर्न सरकारलाई दबाब दिएको छ । शर्मालाई नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा प्रक्राउ गरिएको भनिए पनि सुनकाण्डका विषयमा चर्को आवाज उठाएकोले पक्राउ गरिएको सहजै अनुमान लगाउन सकिन्छ । 

Advertisement

Advertisement