देउवा सुन आयात खुला गर्नुपर्ने पक्षमा, उच्चस्तरीय समिति बनाउनुपर्ने एमालेको माग अस्वीकार

Advertisement

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठकले सय किलोभन्दा धेरै सुन तस्करी भएको विषयमा उच्चस्तरीय छानविन समिति गठन गर्न अस्वीकार गरेको छ । 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले यस्तो समिति बनाउनुपर्ने अडानसहित संसद अवरोध जारी राखेको बेला कांग्रेसले भने त्यस्तो समिति बनाउने कुरा अस्वीकार गरेको हो । कांग्रेसको बैठकले सुन तस्करी प्रकरणको छानबिन सरकारी निकायबाटै हुनुपर्ने निर्णय गरेको छ । 

Advertisement

उच्चस्तरीय छानबिन समिति गठबनको माग दलको बैठकमा केही नेताहरूले गरे पनि संसदीय दलको बैठकले भने त्यस्तो छानबिन समिति गठनको आवश्यकता नदेखिएको निष्कर्ष निकालिएको छ । 

बैठकका निर्णय सार्वजनिक गर्दै सो पार्टीका प्रमुख सचेतक रमेश लेखकले यसमा सरकारी निकायले नै प्रभावकारी छानबिन गर्नुपर्ने बताए । अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले यसको छानविन गरिरहेको छ । कांग्रेसले सरकारी निकाय भने पनि सीआईबी भनेर चाहिँ खुलाएको छैन् । 

लेखकले भने, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्विन्टल सुन तस्करीको विषयमा गम्भीर ध्यानाकर्षण भएको छ । सबैको निगरानी भएको स्थानबाट सुन बाहिरिनु गम्भीर छ । यस्ता गैरकानुनी काम निस्तेज हुनुपर्छ । जो सुकै संलग्न भए पन कारबाही गर्नुपर्छ । सरकारी निकायले नै छानबिन गरिरहेकाले जोसुकै भए पनि कानुनी अभियोजन गर्नुपर्छ र सीआईबीले नै छानबिन गर्नुपर्छ ।’

कार्यक्रममा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले बोलेका गरेका थिए । थापाले राज्यका निकायलाई अविश्वास गर्न नहुने धारणा राखेका थिए । 

शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउन २ गते बाहिरिएको तस्करी गरिएको क्विन्टल सुनको छानबिन गर्न राज्यका निकाय नै अब्बल रहेको बताएका थिए । छानबिन गर्ने अधिकारी अब्बल रहेको र उनीहरूको शिक्षा र तालिम उत्कृष्ट हुने हुनाले अन्तिममा उनीहरूले नै गर्नुपर्ने उनको भनाई छ । 

सभापति देउवा भने सुन आयातलाई खुला गर्नुपर्ने पक्षमा देखिएका छन् । उनले कर लिएर सुन आयात गर्न दिँदा हुने बताएका छन् । 

Advertisement

Advertisement