काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले चीनले नेपालको चुच्चे नक्सालाई मान्यता दिए मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल चीन भ्रमणमा जान मिल्ने बताएका छन् ।
प्रधानमन्त्री दाहालको चीन भ्रमणको तयारी भइरहँदा प्रमुख सचेतक शाहीले नेपालको चुच्चे नक्सा चीनले स्वीकार गरे मात्रै सो भ्रमणमा जान मिल्ने बताएका हुन् । अन्यथा प्रधानमन्त्री दाहालमाथि तत्कालिन मन्त्रिपरिषद् र संसदको सतप्रतिशत मतले पारित गरेको चुच्चे नक्सालाई अस्वीकार गरेको ठहर्ने शाहीको तर्क छ ।
सोमवार संसद भवन परिसरमा सञ्चारकर्मीमाझ प्रमुख सचेतक शाहीले चीनले नेपालको चुच्चे नक्सा सार्वजनिक नगर्दै सो देशको भ्रमणमा गए उनको राष्ट्रवादमाथि पनि प्रश्न उठने बताए ।
उनले भने, ‘नेपालको सतप्रतिशत सांसदहरुले पारित गरेको चुच्चे नक्सा चाइनाको आधिकारिक नक्साबाट हटाईसकेपछि प्रधानमन्त्रीले त्यो नक्सा सार्वजनिक नगर्दै चाइना भ्रमणमा जानु भनेको जुन त्यतिखेरको मन्त्रिपरिषद् र संसदले निर्णय गरेको चुच्चे नक्सा हाम्रो होइन भनेर स्वीकार गर्नु हो । त्यसकारण प्रधानमन्त्रीजीले यो कुरा नहुँदासम्म चीन भ्रमणमा जानु हुँदैन । काठमाडौंको मेयरले बहिष्कार गरेजसरी नै प्रधानमन्त्रीले पनि चीन भ्रमण बहिष्कार गर्नुपर्छ । यदि राष्ट्रवादी प्रधानमन्त्री हुनुहुन्छ भने । होइन सत्ता टिकाउनका लागि मात्रै त्यो खेल हो भने यसमा उहाँको सचिवालयले विज्ञप्ति निकाल्नु पर्छ ।’