सुन तस्करीको अनुसन्धानलाई लिएर गृहमन्त्री र अर्थमन्त्रीबीच विवाद चर्कियो

Advertisement

काठमाडौं । सुन तस्करीको अनुसन्धानमा अर्थमन्त्री र गृहमन्त्रीबीच विवाद चुलिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले भन्सारका कर्मचारीमासथि धरपकड सुरु गरेपछि विवाद चर्किएको हो ।

गत साउन २ गते राजश्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट ६० किलो ७१६ ग्राम सुन समातेको थियो । दुई पांग्रे सवारी साधनको ब्रेक सु भनेर ल्याइएको उक्त सुन समातेर विभागले अनुसन्धान थालेसँगै गृहमन्त्री नारायणकाजी श्रेष्ठले यसको अनुसन्धन प्रहरीले गर्नुपर्ने अडान राखेका थिए । तस्करीको सुनको अनुसन्धानका लागि उनले लबिङ पनि गरेका थिए । 

Advertisement

सुन समातिएको केही दिनमै त्रिवि भन्सार कार्यालयको निरीक्षण गर्दै गृहमन्त्री श्रेष्ठले सुन तस्करीमा संलग्न कसैलाई पनि नछोड्ने प्रतिवद्धता देखाएका थिए । तर त्रिभुवन विमानस्थलको प्रहरीको कडा सुरक्षा र भन्सार कार्यालयको कडा पाँचपास पार गरेर ठूलो परिमाणमा सुन बाहिर पुगेको थियो । अनुसन्धानले यसअघि पनि यसरी नै ठूलो परिमाणमा सुन तस्करी भइरहेको आधारहरु देखिएका छन् । 

राजश्व अनुसन्धान विभागले सुन तस्करीको अनुसन्धान गरिरहँदा गृहमन्त्री श्रेष्ठले सूचना संकलनका लागि भन्दै प्रहरी प्रधान कार्यालयबाट जबरजस्ती एसपी कृष्ण पंगेनीलाई पठाएका थिए । पंगेनीले विभागलाई अनुसन्धान गर्न सगाउनुको साटो असहयोग र गृहमन्त्रीलाई सूचना पुर्याउने काम मात्रै गरेको विभागको भनाई छ ।

प्रधानमन्त्री कार्यालय अन्तर्गतको विभागले अनुसन्धान गरिरहेको सुन तस्करीको गृहमन्त्री श्रेष्ठकै दबाबमा सीआईबीलाई दिइएको छ । त्यसपछि सुन तस्करीको राष्ट्रिय अन्तर्राष्ट्रिय नेटवर्कका ठूला तस्करहरुलाई पक्राउ गर्नुको सट्टा सीआईबीले अनावश्यक दुःख दिन थालेको त्रिवि भन्सार कार्यालयका कर्मचारीहरुले गुनासो गर्दै आएका छन् । 

सीआईबीले अनावश्यक तनाव दिएको भन्दै त्यहाँका १३९ जना कर्मचारीले सामूहिक सरुवा पनि मागेका छन् ।  भन्सार कार्यालयमा काम गर्ने कर्मचारीहरुको मनोबल खस्काउने काम गरेको भन्दै अर्थमन्त्री प्रकाशशरण महत गृहमन्त्री श्रेष्ठसँग रुष्ट भएका छन् । सरुवा माग गरेका कर्मचारीहरुलाई अर्थमन्त्री महतले गृहमन्त्री र सीआईबीको कार्यशैली रोक्न लागेका छन् । 

अर्थ मन्त्रालय स्रोतका अनुसार मन्त्री महतले गृहमन्त्री श्रेष्ठसँग प्रहरीको व्यवहारप्रति आपत्ति जनाउँदै त्रिवि भन्सारका सम्पूर्ण कर्मचारीलाई हतोत्साहित गर्नेगरी निगरानी गर्ने काम बन्द गर्न चेतावनी दिएका छन् । 

मन्त्री महतलाई उदृत गर्दै स्रोतले भन्यो, ‘अर्थमन्त्री महत र गृहमन्त्री श्रेष्ठबीच नोकझोक भएको छ । मन्त्री महतले टोखामा सुनको कारखाना भन्सारका कर्मचारीले बनाएका हुन् ? भनि प्रश्न गरेका हुन् ।’

पक्राउ परेका चिनियाँ नागरिकसँग नेपाली नागरिकता भेटिँदा पनि गृह मन्त्रालय अन्तर्गतको नागरिकता जारी गर्ने प्रमुख जिल्ला अधिकारीहरुलाई कारबाहीको दायरामा ल्याएको छैन् । उल्टै मन्त्रिपरिषदमा लगेर नागरिता खारेज गर्ने गृहमन्त्रालयको तयारीले अनुसन्धानमा गृहमन्त्री माथि नै गम्भीर प्रश्न उठेको छ । 

नक्कली नागरिकता बनाउने कार्यमा गृह मन्त्रालयअन्तर्गतका कर्मचारीहरुको स्पष्ट प्रमाण भेटिँदा पनि कुनै कारबाही नगर्ने तर भन्सारका सबै कर्मचारी सुन तस्कर हुन जस्तो गरेर चौबिसै घण्टा निगरानी गर्ने, पक्राउ गर्ने काम गरिएको अर्थ मन्त्रालयको गुनासो छ । आफ्नै पार्टीका नेताहरु सुन तस्करीमा संलग्न भएको प्रमाणहरु समेत भेटिँदा कुनै कारवाही नगरी सम्पूर्ण भन्सार प्रशासनको काम प्रभावित पार्ने प्रयास भएको स्रोतको गुनासो छ । 

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो निवासमा बोलाएको सर्वदलीय बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गृहमन्त्री श्रेष्ठलाई देख्नासाथ झम्टिन खाजेका थिए । आक्रामकरुपमा प्रस्तुत भएका देउवालाई रक्षामन्त्री समेत रहेका कांग्रेस नेता पूर्णबहादुर खड्काले रोक्दै शान्त पारेको प्रत्यक्षदर्शीहरुको भनाई छ । 

ती प्रत्यक्षदर्शीले भने, ‘गृहमन्त्रीलाई देख्ने बित्तिकै शेरबहादुर देउवा झम्टिन गइहाल्नुभयो । त्यो के गरेको ? त्यो के गरेको ? भन्दै झम्टिन गएपछि पूर्णबहादुर खड्काले रोक्नुभयो र सम्झाएर शान्त बनाउनुभयो ।’ काँग्रेसका नेता बाल कृष्ण खाँणलाई भुटानी शरणार्थी काण्डमा पक्राउ गरेको विषयलाई लिएर देउवा गृहमन्त्री श्रेष्ठदेखि रुष्ट छन् । 

सीआईबीले सुन तस्करीमा अनुसन्धानको दायरा बढाउने भन्दा पनि भन्सारका कर्मचारी वरिपरि मात्रै घुम्ने र पेल्न थालेपछि अर्थमन्त्री प्रतिरक्षामा उत्रिएका हुन् । ब्रेक सु भनेर सुन तस्करी गर्न प्रयोग भएको रेडी ट्रेड प्रा.लि. नामक कम्पनीको मात्रै नभएर थप छ वटा व्यवसायिक फर्मको सूचना भन्सार विभागबाट सीआईबीले लगिसकेको छ । 

ती सबै सामान जाँचपास गर्ने भन्सारका कर्मचारीहरुलाई सीआईबीले निगरानीमा राखेको छ । यदि ती फर्महरुको जाँचपास गर्ने सबै कर्मचारी सीआईबीले तान्ने र बयानका लागि बोलाउन थाल्यो भने त्रिवि भन्सारको भन्सार जाँचपासको काम पूरै प्रभावित हुने अवस्था सिर्जना हुन्छ । 

यता भन्सारका कर्मचारीहरुले भने धातु चेकजाँच गर्ने एक्सरे मेशिनलाई समेत झुक्याउने गरी ब्रेक सु भनेर प्याकेजिङ गरी सुन ल्याएको बताउँदै तस्करीमा आफूहरु संलग्न नरहेको जिकिर गर्दै आएका छन् । अहिलेसम्म भन्सारका चार जना कर्मचारीलाई हिरासतमा राखेको छ, जसमा खरिदार कुमार ढकाल अधिकृत गणेश पौडेल शाखा अधिकृत सन्तोष चन्द र एक्सरेमा बसेका सरोज श्रेष्ठ छन्।

सुन तस्करीको अनुसन्धान गृहमन्त्री वरिपरि 
सुन तस्करीको अनुसन्धान प्रहरीले गर्न पाउनुपर्ने माग गर्दै आएका गृहमन्त्री नारायणकाजी श्रेष्ठ वरिपरी नै अनुसन्धान घुम्न थालेको छ । एकपछि अर्को गरी उनकै पार्टीका उच्च नेताहरुको संलग्नता सुन तस्करीमा देखिन थालेपछि गृहमन्त्री श्रेष्ठमाथि नै नैतिक संकट सिर्जना भएको छ । 

श्रेष्ठका अत्यन्तै नजिक मानिएका सहसचिव झलकराम अधिकारी सुन तस्करीमा मुछिएका छन् । माओवादी पार्टीका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरा, उनका छोरा, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा, पूर्वमाओवादी नेता रामबहादुर थापाका छोरा, पूर्वअर्थमन्त्री एवं माओवादी नेता बर्षमान पुन, प्रधानमन्त्री पुष्पकमल दाहालकी बुहारीलगायतको सुन तस्कर र तस्करीमा संलग्नताले गर्दा गृहमन्त्री श्रेष्ठलाई नैतिक संकट सिर्जना भएको हो । 

सुन तस्करीमा पक्राउ परेका दावा छिरिङ लामा पक्राउ गरेसँगै माओवादी र अन्य  पार्टीको उच्च तहका नेताहरुको संलग्नता खुल्दै गएका छन् । स्रोतका अनुसार सुन तस्करीको विषय गहिरो अनुसन्धान गरे गृहमन्त्री श्रेष्ठकी सहयोगी सुसन कर्माचार्यसम्म पुग्ने अनुमान गरिएको छ । 

Advertisement

Advertisement