एमालेमा अब बिस्फोट हुन्छः झलनाथ खनाल

Advertisement

काठमाडौं । नेकपा एमालेबाट टुक्रिएर बनेको एकीकृत समाजवादीका नेता झलनाथ खनालले एमाले पार्टीभित्र अब बिस्फोट हुने दावी गरेका छन् । बुधवार आफ्नो पार्टीनिकट जनजातिको कार्यक्रममा उनले एमालेभित्र बिस्फोट र बिद्रोह हुने दावी गरेका हुन् । 

खनालले एमालेभित्र देशव्यापी रुपमा पहिरो जाने बताउँदै एमालेको दक्षिणपन्थी कार्यदिशाका कारण पार्टी भित्रैबाट बिद्रोह हुने उल्लेख गरे । उनले जनताको बहुदलीय जनवादबाट समाजवाद आउँदैन भन्नेकुरा एमालेले बुझ्नुपर्ने बताए । खनालले एमाले आफ्ना नीतिहरुमा परिवर्तन गर्न बाध्य हुने पनि बताए । 

Advertisement

उनले भने, ‘आज यही मञ्चबाट तपाइँ हामीले एमाले छोडेर हाम्रो पार्टी नेकपा एकीकृत समाजवादीमा प्रवेश गराएका छौँ । यो के कुराको थालनी हो भन्दाखेरी अब एमालेभित्र पहिरो जादैछ । र हामीले सही बाटो लिएर अगाडी बढ्यौँ भने हाम्रो पार्टी केही वर्षभित्रमा एउटा राष्ट्रव्यापी पार्टी बन्नसक्छ । उपत्यकाभित्र त एउटा पहिरो जानुपर्छ, पर्छ । देशव्यापी रुपमा गलत कार्यदिशा, दक्षिणपन्थी कार्यदिशा लिएको जो एमाले छ, त्यो एमालेको पंक्तिभित्र अब पहिरो जान्छ । अब जबजबाट समाजवाद आउँदैन भन्नेकुरा एमालेको नेतृत्वले बुझ्नुपर्छ ।’ 

खनालले एमालेको गलत कार्यदिशाका कारण आफूहरुले सो पार्टीबाट विद्रोह गरेको दावी गर्दै आफूहरुले सही विचार र कार्यदिशा लिनुपर्ने बताए । उनले एमाले राप्रपा, लोसपा र काँग्रेस जो सँग पनि गठबन्धन गर्न तयार भएको भन्दै ऊ सँग कुनै सिद्धान्द र दृष्टिकोण नभएको बताए । खनालले एमाले भयानक अलमलमा रहेको टिप्पणी गरे । 

Advertisement

Advertisement