संविधानको पानालाई पल्टाएर हेर्यो भने भन्न छुटेका कुरा केही छैन होला, तर.....: माधव नेपाल

Advertisement

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले दलाल नोकरशाही पुँजीवादका कारण संविधान कार्यान्वयनमा समस्या भएको दावी गरेका छन् । 

बुधवार नेपाल रिटर्नी एशोसिएशनको कार्यक्रममा उनले दलाल नोकरशाही पुँजीवादले नेपालको राजनीति र अर्थतन्त्रलाई कब्जामा लिएका कारण संविधान कार्यान्वयनमा समस्या भएको दावी गरेका हुन् । पहिले देशलाई दलाल नोकरशाही पँुजीवादको कब्जाबाट मुक्त गर्नुपर्ने नेता नेपालको तर्क छ । 

Advertisement

उनले शोषणको नयाँ–नयाँ रुपहरुलाई अन्त्य गर्दै राष्ट्रिय पुँजी विकासको वातावरण तयार नगरेसम्म संविधानमा लेखिएको कुरा व्यवहारमा लागू गर्न नसक्ने भन्दै संविधानले सबै प्रकारका अधिकारहरु दिएको भए पनि त्यसको कार्यान्वयनमा भने चुनौति रहेको बताए । दिन समाजमा भएका सबै भेदभाव, अन्याय, अत्याचार, पछौटेपन र गरिबीलाई अन्त्य गर्ने संकल्प गर्नुपर्ने आवश्यकता रहेको माधव नेपालले बताए । 

उनले भने, ‘संविधानको पानालाई पल्टाएर हेर्यो भने संविधानले भन्न छुटेका कुरा सम्भवतः केही छैन होला । तर चुनौति के छ भने संविधानमा लेखिएको प्रावधानलाई व्यवहारमा लागू गर्ने कसरी ? नेपाली विशेषताको समाजवादलाई व्यवहारमा लागू गर्ने कसरी ? यसअर्थमा नेपाली विशेषताको समाजवादको बारेमा विषयवस्तुको अभाव देखिँदैन । गर्नुपर्ने कामको पनि अभाव देखिँदैन । तर योजनावद्ध ढंगले अगाडी बढ्ने कुरामा, व्यवहारमा लागू गर्ने कुरामा, मौलिक हक र अधिकारहरु जनतालाई प्रदान गर्ने कुरामा धेरै समस्याहरु देखिन्छ ।’ 

माधव नेपालले थपे, ‘समस्याको पहिलो कारण हाम्रो देशमा अहिले पनि दलाल नोकरशाही पुँजीवादले जसरी नेपालको राजनीति र अर्थतन्त्रलाई पूरै आफ्नो कब्जामा लिएको छ । त्यसबाट सबभन्दा पहिले मुक्त गर्नुपर्ने आवश्यकता छ । जबसम्म हामी शोषणका नयाँ–नयाँ रुपहरुलाई अन्त्य गर्ने कुरा गर्दैनौँ, हाम्रो अर्थतन्त्रमा देशको राष्ट्रिय विकासको, राष्ट्रिय पुँजीको विकासको वातावरण जबसम्म हामी तयार गर्दैनौँ, जबसम्म हामीले हाम्रो शिक्षा प्रणालीलाई तदनुरुप नै अगाडी बढाउँदैनौँ, जबसम्म हामी राम्रो संस्कार र संस्कृतिमा जनतालाई अगाडी बढाउँदैनौँ, जबसम्म उनीहरुलाई श्रम गर्ने, मेहनत गर्ने, सीप सिक्ने र सीपलाई उत्पादनसँग जोड्ने काममा उत्प्रेरित गर्दैनौँ । तबसम्म हामी व्यवहारमा लेखेको कुरा लागू गर्न सक्दैनौँ ।’

Advertisement

Advertisement