जनयुद्ध दिवसको नाममा दिएको विदा रद्द गर्न प्रधानमन्त्री दाहाललाई ओलीको अल्टिमेटम

Advertisement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले शान्ति प्रक्रियाका बाँकी काम छिटो सम्पन्न गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल तयार नभएको बताएका छन् । 

मंगलबार संसदमा लामो भाषण गर्दै उनले प्रधानमन्त्री दाहालले जस अर्कोले लिन्छ भनेर प्रधानमन्त्रीले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन नचाहेको आरोप लगाए । 

Advertisement

ओलीले आफू प्रधानमन्त्री रहँदा शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन खोज्दा प्रधानमन्त्री दाहालले नै नमानेको बताउँदै जनयुद्ध दिवसको नाममा फागुन १ गतेलाई सरकारी बिदा दिएकोमा आपत्ति जनाए । 

उनले फागुन १ गते विदा दिने आफूहरुलाई मान्य नहुने बताउँदै अबको मन्त्रिपरिषदबाट उक्त निर्णय रद्द गर्न अल्टिमेटम पनि दिए । यसअघिको निर्णय फिर्ता नलिए आफूहरुले कडा कदम चाल्नुपर्ने ओलीको भनाई छ । उनले आगामी मन्त्रिपरिषद्को बैठकबाट नै सो निर्णय फिर्ता लिन चेतावनी दिए । ले हिंसा दिवसलाई राष्ट्रिय दिवस भनेर उत्सवको रुपमा मनाउन आफूहरु तयार नरहेको बताउनु भयो ।

ओलीले भने, ‘प्रधानमन्त्री शान्ति प्रक्रियाका घाउ टुंग्याउन चाहनुहुन्न । द्वन्द्व पीडितलाई नुनचुक छर्किएर आन्दोलन सिर्जना गर्न थालिएको छ । हिजोका कुरा बिर्सिएर शान्तिपूर्ण मेलमिलापका रुपमा अघि बढ्नुपर्नेमा प्रधानमन्त्रीज्युले हिंसा शुरु गरेको दिनलाई राष्ट्रिय उत्सवको रुपमा घोषणा गर्नुभयो । उत्सव मनाउ, नाचगान गर, बाजा बजाउ, नाच, त्यसका लागि छुट्टी । यो बिदा घोषणा मान्य छैन । हिंसातर्फको गत फागुन १ गतेबाट प्रधानमन्त्रीज्युले माघ मसान्तमा घोषणा गर्नुभयो । यो बसेका घाउका खाका उक्काएर हिंसा शुरु गरिएको दिन कुनै देशको उल्लास उत्सव हुन सक्दैन । अब हिंसा शुरु गरेको दिन हामी भोज खाएर, नाचेर, शहीदका परिवारहरु, शहीदका बच्चा पढाउने जिम्मा नलिने, तिनका अगाडि उत्सव मनाउने ? तपाईले बिदा केका लागि दिनुभयो ? के हो बिदा भनेको, केका लागि ? नेपाल र नेपाली जनताका लागि हिंसा दिवसलाई राष्ट्रिय दिवस भनेर मनाउन मञ्जुर छैन । हामी उत्सवको रुपमा मनाउन तयार छैनौँ । हामी छुट्टी मनाइ मनाइकन नाचगान र भतेर गर्न तयार छैनौँ । यो आउने क्याबिनेटबाट निर्णय फिर्ता लिनुस् । बिदा फिर्ता लिनुहुन्न भने यसलाई रद्ध गर्नुहुन्न भने हामीले यसका बिरुद्ध कदम चाल्नुपर्ने हुन्छ ।’

Advertisement

Advertisement