आर्थिक संकटको दोष कांग्रेसलाई लगाएर प्रधानमन्त्री आफू चोखो बन्न खोजेः गगन थापा

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले कुनै एउटा पार्टीले मात्रै सरकार चलाउनुपर्ने शर्त अघि सारेका छन् । बिहीवार आफ्नो पार्टीनिकट पत्रकारहरुको कार्यक्रममा उनले कुनै एउटा पार्टीको मात्रै सम्पूर्ण मन्त्रिमण्डल रहने गरी सरकार चलाउनुपर्ने बताएका हुन् । 

थापाले समय निश्चित गरेर एउटा पार्टीलाई मात्रै सरकार चलाउन दिनुपर्ने बताउँदै सत्तारुढ गठबन्धनका नेताहरुले राष्ट्रिय सहमतिको सरकार गठनको कुरा गरिरहेको तर राष्ट्रिय सहमतिको सरकार आवश्यक नरहेको बताए । उनले राष्ट्रिय सहमतिको सरकार बनाउँदा झन धेरै भागबण्डा गर्नुपर्ने अवस्था आउने बताए । 

Advertisement

कुनै एक पार्टीलाई मात्र सरकार चलाउन नदिने हो भने सरकार यस्तै अस्तव्यस्त भइरहने थापाको भनाई छ । उनले अहिलेको सरकारको कुनै प्राथमिकता नभएको बताए । थापाले निर्वाचन पूर्व काँग्रेसले कुनै पनि गठबन्धन नगर्ने स्पष्ट पारे । उनले आगामी निर्वाचनमा काँग्रेस गठबन्धन गरेर गएमा काँग्रेस पार्टी एक नरहने बताए । 

थापाले भने, ‘८४ सालमा हामी चुनावमा जाँदै गर्दाखेरी हामी गठबन्धनमा जाँदै जाँदैनौँ । कसैले कल्पनै नगरे हुन्छ । गठबन्धन गरेर जान्छु भन्यो भनेदेखि त्यो बेलामा नेपाली कांग्रेस पार्टी एक रहने कुराको कल्पना नगरे हुन्छ । क्लियर कुरा गरेको । यसमा कहीँ अलमल छैन् । हामी एक्लै जान्छौँ ।’

अहिले प्रधानमन्त्रीले राम्रो जति आफ्नो नराम्रो जति कांग्रेसको भन्ने गरेको थापाको गुनासो छ । उनले भने, ‘अहिले प्रधानमन्त्रीले के भन्नुहुन्छ बेला बेलामा राम्रो जति मेरो, नराम्रो जति कांग्रेसको । आर्थिक संकट भयो काँग्रेसको मन्त्री छ, गर्नै सकेन । भ्रष्टाचारको बारेमा मैले त राम्रो काम गर्न खोजेको थिएँ, तर फलानोले, मन्त्रीहरुले समाचार लेखाइरहेका छन् बेलाबेलामा । मैले त असाध्यै राम्रो काम गर्न खोजेको थिएँ तर कांग्रेसको कारणले गर्दा दिएन ।’

नेता थापाले निर्वाचन पूर्व गरिने गठबन्धनले प्रजातान्त्रिक संस्कृतिलाई विकृत बनाउने बताए । उनले निर्वाचन पूर्वको गठबन्धन सैद्धान्तिक रुपमा गलत रहेको उल्लेख गर्दै काँग्रेसका आगामी महासमिति बैठक निर्वाचन पूर्वको गठबन्धनको विपक्षमा उभिनुपर्ने बताए । 

महामन्त्री थापाले वर्तमान सरकारले फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा मनाएमा काँग्रेसले नमान्ने बताए । उनले काँग्रेसले फागुन १ गतेलाई कुनैपनि दिवसको रुपमा स्वीकार नगर्ने प्रष्ट पारे । थापाले भने, ‘यो सरकारले फागुन १ गतेलाई जनयुद्ध दिवस मनाउँछु भनेर बिदा दिन्छु भनेर भन्यो भने के कांग्रेस पार्टी यसलाई हामी गठबन्धनमा छौँ त्यसकारणले गर्दा हामी यसलाई मान्छौँ भनेर यसलाई स्वीकार गर्नसक्छौँ ? सक्दैनौँ ।’ 

Advertisement

Advertisement