काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस)का अध्यक्ष माधव नेपाल मंगलबार चीन जाने भएका छन् । उनी १५ सदस्यीय टोलीको नेतृत्व गर्दै चीन जान लागेका हुन् । माधव नेपाल सबैभन्दा धेरै विदेश घुम्ने नेताको रुपमा पनि चिनिन्छन् ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को निमन्त्रणामा दक्षिण एसियाली राजनीतिक दलहरूसँग हुन लागेको कार्यक्रममा भाग लिन चीन जान लागेको माधव नेपाल नेतृत्वको टोलीलाई भत्ताको समेत व्यवस्था रहेको जनाइएको छ ।
उनले सोमबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकमा यस विषयमा जानकारी पनि गराए । माधव नेपालसँग सो पार्टीका उपाध्यक्षसमेत रहेका कृषिमन्त्री डा. बेदुराम भुसाल, मोहन गौतम, विद्या चाम्लिङ, सुधिर साह, विष्णु महतो, लोकबहादुर हमाल, हर्कबहादुर सिंह र गणेश विकलगायत सहभागी हुनेछन् ।