काठमाडौं । गणतन्त्र र भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्दै आएको व्यवसायी दुर्गा प्रसाइँले गणतन्त्रविरुद्ध आफूले गर्न लागेको आन्दोलन सफल गर्न भन्दै गणतन्त्रवादी प्रमुख नेताहरुसँग ५०–५० लाख रुपियाँ आर्थिक सहयोग माग गरेका छन् ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नामक अभियान सञ्चालन गर्दै आएका उनले आउँदो मंसिर ७ बाट सुरु गर्न लागेको आन्दोलनका लागि भन्दै प्रमुख दलका नेताहरु नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी ओली, प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग ५०–५० लाख सहयोग माग गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ भएकाले पाँच लाख रुपियाँ मात्रै सहयोग गर्न सो पार्टीका सभापति रवि लामिछानेसँग प्रसाइँले आग्रह गरेका छन् ।
दुर्गा प्रसाइँको आक्रामक अभिव्यक्तिका कारण पछिल्लो समयमा ठूला गणतन्त्रवादी नेता, तिनका कार्यकर्ता र विशेषगरी मारवाडी समुदायका व्यवसायीहरु उनीदेखि रुष्ट बनेका छन् । अर्कोतर्फ उनको पक्षमा जनलहर बढ्दै गएको सामाजिक सञ्जालमा देखिन्छ ।
विशेषगरी न्यून आयस्तरका मानिसहरुको पक्षमा आवाज उठाउने गरेका कारण, सहकारी तथा लघुवित्त संस्था र बैंकहरुबाट पीडित भएकाहरुको पक्षमा बोल्ने गरेका र समस्यामा परेकाहरुलाई सहयोग गर्ने गरेकाले उनको पक्षमा मानिसहरु बढ्दै गए पनि कुनै समुदाय तथा पक्षलाई लक्षित गरी आरोप लगाउने र गाली गर्ने गरेकाले उनको आलोचना पनि हुने गरेको छ ।
प्रसाइँले अहिलेको गणतान्त्रिक व्यवस्थाले गर्दा जनता झन गरिव हुँदै गएको, विदेशिन बाध्य भएको, जीवनयापन गर्न गाह्रो भएर आत्महत्या गर्ने क्रम बढेको, भ्रष्टाचार र बेथिति मौलाएको भन्दै यो व्यवस्था खारेज गरी राजासहितको हिन्दु राष्ट्र कायम गर्नुपर्ने, आर्थिकरुपमा बोझ बनेको प्रदेशहरु खारेज गर्नुपर्ने, २० लाख रुपियाँसम्म ऋण लिनेको ऋण मिनाहा हुनुपर्ने जस्ता माग उठाएका छन् ।
उनले आफ्ना माग पूरा गर्न भन्दै आन्दोलनको घोषणा गरेर त्यसको तयारी गरेका छन् । आन्दोलनमा लाखौं मानिस काठमाडौंको सडकमा उतार्ने भन्दै प्रसाइँले सबैसँग आर्थिक सहयोग पनि माग गरेका छन् ।