सर्बदलीय बैठकपछि प्रधानमन्त्रीले भने– दुर्गा प्रसाइँको आन्दोलनबाट हामी तर्सिएका छैनौं

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान र संघीय गणतन्त्रप्रति सबै नेताहरु एक ठाउँ उभिएको बताएका छन् । 

दुर्गा प्रसाइँको नेतृत्वमा आन्दोलनको घोषणा गरिएसँगै झस्किएका दलहरु मंगलवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सर्वदलीय बैठक बसेको हो । 

Advertisement

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रसम्म ल्याउन नेतृत्वदायी भूमिका खेल्ने पार्टी र नेताहरुको समीक्षात्मक बैठक निरन्तर राख्नेबारेमा पनि एकमत भएको बताए । 

उनले भने ‘नेपालको आधुनिक राजनीतिक इतिहासका सन्दर्भमा देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रसम्म ल्याउन नेतृत्वदायी भुमिका खेल्ने पार्टी र नेताहरुको समीक्षात्मक बैठक थियो । यो बैठकमा राम्रो कुरा के भयो भने संविधानप्रति, संघीय लोकतान्त्रिक गणतन्त्रप्रति सबैको एउटै खालको प्रतिवद्धता व्यक्त भयो । यसलाई निरन्तर बैठक राख्नुपर्छ । हामी सामान्य समीक्षा गरौँ भनेर गरेको हो, कसैसँग तर्सिएको छैन् ।’

बैठक कसैसँग डराएर नभइ समीक्षा गर्नका लागि बसेको दाहालले बताए । बैठकमा सहभागी नेताहरुले दुर्गा प्रसाइँले घोषणा गरेको आन्दोलनप्रति चिन्ता र चासो जनाउँदै आन्दोलन असफल बनाउन आफूहरु एक हुनुपर्ने कुरामा जोड दिएका थिए । 

साथै, अर्थमन्त्री प्रकाशशरण महतले शान्ति प्रक्रिया चाँडो टुंग्याउने बारेमा सर्वदलीय बैठकमा नेताहरु एकमत भएको बताए । उनले संविधानलाई संस्थागत गर्नुपर्नेमा सबै नेताहरुले जोड दिएको बताउँदै राष्ट्रिय मद्दामा साझा धारणा बनाउने बारेमा पनि छलफल भएको बताए । 

महतले संघीयताको बिरोध गर्नेहरु पनि प्रणालीले दिएको अधिकार उपयोग गर्न पाइरहेकाले यसबाट टाढिने अवस्था नरहेको जिकिर गरे । उनले भने, ‘सौहाद्रपूर्ण छलफल भयो । शान्ति प्रक्रिया चाँडै टुंग्याउने कुरामा एकमत छ । लोकतान्त्रिक मूल्य र मान्यता र यो संविधानले लामो संघर्षबाट यो संविधान बनेको कुरा हो । यसलाई संस्थागत गर्ने कुरामा छलफल भयो । राष्ट्रिय मद्दामा साझा धारणा बनाउने बारेमा नै छलफल भयो । यी कुरामा सबै नेताहरु एकमत हुनुहुन्छ । हामीमा त्रास छैन, बाहिर प्रचारमा बढाइचढाइ आएको हो । त्रासको कुरा छैन । यो प्रणालीको बिरोध गर्नेहरुले प्रणालीले दिएको अधिकार उपयोग गर्न पाइरहेका छन् । यसबाट कोही वञ्चित हुन चाहँदैनन् ।’

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान सञ्चालन गर्दै आएका प्रसाइँले मंसिर ७ देखि आन्दोलनको घोषणा गरेका छन् । 

Advertisement

Advertisement