हिमालय जेटका प्रतिनिधि र बेलायती राजदूतबीच भेट, नयाँ उडानले दुई देशको सम्वन्ध विस्तार हुने

Advertisement

काठमाडौं । हिमालय जेटका प्रतिनिधिमण्डल र नेपालका लागि बेलायती राजदूत रोब फेनबीच भेटवार्ता भएको छ । भेटमा हिमालय जेटका नेपाल प्रतिनिधि र सल्लाहकार तथा बेलायती दूतावासका अधिकारीहरु सहभागी थिए ।

बेलायतमा आधारित भई विश्वका विभिन्न शहरमा उडान सेवाको तयारीमा रहेको हिमालय जेटले पूर्वतयारीका सन्दर्भमा राजदूत फेनसँग भेट गरेको हो । नेपाली मूलका बेलायती नागरिक दीपेन्द्र गुरुङ र गुरुङ परिवारको लगानी रहेको यो एयरलाइन्सले पहिलो उडान काठमाडौंबाट सुरु गर्न लागेको छ ।

Advertisement

भेटमा एयरलाइन्सका प्रतिनिधिहरुले दूतावासको संभावित सहयोग र नेपाल तथा बेलायतबीचको सम्वन्ध सुदुढीकरणका विषयमा कुराकानी भएको एयरलाइन्सले जनाएको छ । काठमाडौंस्थित बेलायती दूतावासमा भएको भेटमा उड्डयन क्षेत्रको नियमन ढाँचा, द्धिपक्षीय सम्झौता, नेपाल र बेलायतबीचको कनेक्टिभिटिका अवसरहरु जस्ता एयरलाइन्स उद्योगका सम्वन्धमा कुराकानी भएको थियो । 

नेपालका लागि हिमालय जेटका प्रवन्ध निर्देशक राजुबहादुर केसीले दूतावाससँगको छलफल फलदायी र आशाजनक भएको बताएका छन् । उनले भनेका छन्, ‘हामीले परिस्कृत सहयोगका लागि अवसरहरु खोज्यौं । संभावित साझेदारीबारे छलफल गर्यौं ताकी दुई देशबीच उडान गर्ने एयरलाइन्स र यात्रुहरु दुवैलाई फाइदा पुग्ने उपायहरु कुराहरु भयो ।’

बेलायती दूतावासका अधिकारीहरुले हिमालय जेटले उड्डयन क्षेत्रमा गरेको सकारात्मक प्रयासको प्रसंशा गर्दै दुवै पक्षको साझा हितसँग मेल खानेगरी सहकार्य गर्नुपर्ने कुरामा जोड दिएको एयरलाइन्सले जनाएको छ । 

भेटवार्ताका क्रममा नेपाल र बेलायतको पर्यटन प्रवर्द्धन, व्यापार विस्तार, साँस्कृतिक आदानप्रदानका विषयमा पनि कुराकानी भएको जनाइएको छ । दुवै पक्षले आर्थिक सम्वन्ध विस्तारलाई सहज बनाउन र जनता–जनताबीचको सम्वन्ध सुदृढ बनाउन पनि हवाई ‘कनेक्टिभिटि’को महत्व रहेको स्वीकार गरेका थिए । 

हिमालय जेटले नयाँ अवसरको खोजी र सहकार्यको लागि पहल गर्दैगर्दा आफूहरु यात्रुलाई दक्ष र उच्च गुणस्तरको यात्रा अनुभव प्रदान गर्न प्रतिवद्ध रहेको जनाएको छ । 

Advertisement

Advertisement